‘महापुरुष’ले ५१ दिन मनाउँदै, कति कमायो ? – Nepal Press

‘महापुरुष’ले ५१ दिन मनाउँदै, कति कमायो ?

काठमाडौं । नेपाली बक्स अफिसमा सर्वाधिक रुचाइएको चलचित्र ‘महापुरुष’ ले भोलि ५१ औँ दिन मनाउने भएको छ । हलमा नेपाली चलचित्रले शो पाउनै मुस्किल परिरहेको अवस्थामा लामो अन्तरालपछि यस चलचित्रले ५१औँ दिनको रेकर्ड तोडेको हो । काठ्माडौंको अधिकतम हलहरुमा यसले ५१औँ दिन मनाईरहेको छ ।

साढे दुई करोड लगानी लगाएर बनेको चलचित्र ‘महापुरुष’ ले ५१ औं दिन मनाईराख्दा १० करोड माथिको ग्रस कलेक्सन गरेको छ । चलचित्रले सोचेभन्दा राम्रो व्यापार गरकाले निर्देशक प्रदीप भटट्राई निकै हर्षित छन् । पहिला धेरै चलचित्रहरुले ५१ दिन मनाए पनि अहिलेका चलचित्रहरुलाई हलमा केही दिन टिक्न पनि धौधौ हुने उनको भनाई छ ।

उनी भन्छन्, ‘पहिला थोरै हलहरु हुन्थे त्यसैले दर्शकहरु धेरै दिनसम्म चलचित्र हेर्न आउनुहुन्थ्यो । अहिले धेरै हल र स्क्रिन बनेका छन् । चलचित्रहरु सबै हलमा एकैचोटी लाग्छन् । सबैतिर छरिएर रहनु भएको दर्शकहरुले एकैचोटी चलचित्र हेर्नहुन्छ त्यसैले केही दिनमा नै चलचित्र हलबाट उत्रिन्छ । यस्तो समयमा मेरो चलचित्र ५१ दिनसम्म टिक्नु नै मलगायत मेरो सम्पूर्ण टिमको लागि खुशीको कुरा हो ।’

अहिलेसम्म नाफा यति भयो भनेर ठ्याक्कै अनुमान लगाउन नसकेता पनि ‘महाप्रुष’ ले अर्को चलचित्र बनाउँदा जोखिम उठाउनु नपर्ने र आफ्नो खल्तीबाट झिकेर लगानी लगाउनु नपर्ने भट्टराई बताउँछन् ।

यसअघि चलचित्र ‘कबड्डी ४’ नेपाली बक्स अफिसमा २२ करोड ८७ लाखको कुल कलेक्सनका साथ वर्ष २०७९ को ५१ दिन मनाउने पहिलो नेपाली चलचित्र बनेको थियो । कबड्डीपश्चात ‘महापुरुष’ ले उक्त रेकर्ड तोडेको हो। ‘महापुरुष’ अगाडि भट्टराईले निर्देशन गरेका तीनवटै चलचित्रहरु ‘जात्रा’, ‘जात्रैजात्रा’ र ‘शत्रुगते’ले पनि ५१ औँ दिन मनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *