अब्बास कोरी: होटलका वेटर, फुटबलका ‘इनसाइक्लोपेडिया’ – Nepal Press

अब्बास कोरी: होटलका वेटर, फुटबलका ‘इनसाइक्लोपेडिया’

काठमाडौं । हरेक रात कतारको दोहास्थित सेन्चुरी रेस्टुरेण्टमा फुटबलप्रेमीहरूसँग गफिँदै गरेको अवस्थामा भेटिन्छन्- भारतका अब्बास कोरी । ४६ वर्षीय कोरी पेसाले वेटर हुन् तर स्थानीय फुटबलप्रेमीका लागि भने फुटबलका ‘इनसाइक्लोपेडिया ‘।

कोरीका फुटबलसँग सम्बन्धित कुरा कुनै प्रवचनभन्दा कम हुँदैनन् । विश्व नै फुटबलमय बनेको यो बेला त झनै उनलाई फुटबलकै कुरा गर्न भ्याइनभ्याई भएको छ ।

‘म होटलमा आउने हरेकसँग फुटबलका कुरा गर्छु मलाई फुटबलका कुरा गर्दा आनन्द महसुस हुन्छ । मैले यही होटलमा घाना, इङल्याण्ड , मोरोक्को, नाइजेरियालगायतका धेरै देशहरूका फुटबल फ्यानहरूलाई भेटेको छु’, उनी भन्छन्, ‘मैले हालैमात्र यहाँ मोरोक्कोका केही फ्यानहरूलाई भेटेँ, कुराकानीको क्रममा मैले मोरोक्कोका हाकिमी जियेच, अचराफ हाकिमी, मारौने चमाख, नौसैर माजरौई, मुस्तफा हादजीलगायतका पुराना तथा नयाँ खेलाडीहरूको नाम लिएँ र हामीहरूले उनीहरूको बारेमा चर्चा गर्‍यौं ।’

‘उनीहरूले मलाई ‘अक्की’ भनेर सम्बोधन गरे । मोरोक्कोमा अक्की मतलब भाइ हुँदो रहेछ । कहिलेकाहीँ म नै ग्राहकलाई सीधा प्रश्न गर्छु- तपाईंले हिजोको खेल हेर्नु भयो ? त्यहीँबाट हाम्रो वार्तालाप सुरू हुन्छ । गत नोभेम्बरको बीचतिर चेल्सीका फ्यानहरु विश्वकप हेर्न कतार आएका रहेछन् , मैले उनीहरूलाई म आफू पनि प्रिमियर लिगको फ्यान रहेको बताएँ, हामीले धेरै बेर कुरा गर्‍यौं अन्त्यमा उनीहरूले मसँग सेल्फी खिचेर गए’, कोरी भन्छन् ।

फुटबलसँग सम्बन्धित ऐतिहासिक उपाख्यानहरू, टोली गठनको विश्लेषण, खेलाडीहरूको फिटनेस र फुटबल लोककथाहरूबारे चर्चा गर्न उनी माहिर मानिन्छन् । तर, १२ घण्टे लामो सिफ्टमा आफ्नो काममा भने लापरबाही गर्देनन् । ग्राहकलाई सर्भ गर्नु आफ्नो कर्म भएको उनको भनाइ छ ।

कोरी भन्छन्, ‘म आफ्नो सिफ्ट सक्किएपछि मात्र म्याच हेर्छु, म्याच हेर्न सम्भव नभए पुन: प्रसारण हेर्छु, हाइलाइट्स हेर्छु फुटबलप्रति मेरो यो नसा किन छ म आँफैलाई पनि थाहा छैन ।’

कोरीलाई विगत ३ दशकका हजारौँ खेलाडीबारे थाहा छ भन्ने सुनेपछि भारतको केरलाको मलया भाषाका खेल पत्रकार एनएस निसारले उनलाई भेटेका थिए । निसार भन्छन्, ‘हामी सबैलाई थाहा छ क्लाउडियो क्यानिगियाले १९९० मा अर्जेन्टिनाका लागि खेलेका थिए, तर कोरीले क्लबहरूमार्फत खेलाडीहरूको सम्पूर्ण प्रक्षेपण ट्र्याक गर्छन् उनलाई १९९० को दशकदेखि (सबै) विश्वकप टोलीका हरेक खेलाडीबारे थाह छ । मैले ब्राजिल, अर्जेन्टिना वा इटालीको बारेमा जानकार मानिसहरू धेरै देखेको छु, तर यो मानिसलाई मोरक्को, क्यामरुन वा सेनेगलको बारेमा धेरै थाहा छ,’।

उनी महान फुटबल खेलाडी पेलेसँग जोडेर अन्य खेलाडीलाई उपनाम पनि दिन्छन् । साउदी अरबका माजेद अब्दुल्लालाई उनी मरभुमीका पेले भन्छन्, ब्राजिलका जिकोलाई उनी सेतो पेलेको उपनाम दिन्छन् । उनीसँग बलोन डी’ओर विजेता जर्ज वेह कसरी लाइबेरियाको राष्ट्रपति बने भन्ने रोचक किस्सा पनि सुनाउँछन् । कुनै समय इटालियन लिगमा प्रभूत्व जमाएको एसी मिलान कसरी डिफेन्समा मात्र ध्यान दिनाले र खेलाडी आत्मकेन्द्रित हुनाले आफ्नो स्टाटस गुमायो भनेर विश्लेषण सुनाउँछन् । भारतको केरेलामा जन्मेका कोरीले १९९० को विश्वकपपश्चात फुटबलको प्रेममा परेको बताउँछन् ।

क्यामरोनले अर्जेन्टिनालाई हराएको म्याचबाट फुटबल हेर्न सुरू गरेको उनले सुनाए ।

‘अर्जेन्टिना राम्रो टोली थियो, तर शक्तिशाली क्यामेरोनियनहरूले डिएगो म्याराडोना, क्यानिगिया र जर्ज बुरुचागालगायत अर्जेन्टिनाका हरेक खेलाडीलाई ट्याकल गरे’, उनी सम्झन्छन, ‘त्यो खेल अर्जेन्टिनाले हार्‍यो तर मलाई म्याराडोनाले मोहित बनाए, म्याराडोनासँग पासिङ, ड्रिब्लिङ र टाउकोमा बल बोकेर पिचमा पुग्ने अदभुत क्षमता थियो ।’

अटो ग्यारेज, बालुवा खानी हुँदै होटलमा वेटरको कामसम्म पुगेका कोरीले खेल पत्रिका पढ्नकै लागि अंग्रेजी सिकेको बताए । फुटबलका ‘इन्साइक्लोपेडिया’ भनेर चिनिने कोरी ब्राजिल र म्यानचेस्टर युनाइटेडका फ्यान हुन् ।

अल्जजिराको ‘द इन्डियन वेटर विथ इन्साइक्लोपेडिक नलेज अफ फुटबलमा आधारित ‘

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *