कमल थापाको सुझाव- च्याँखे थाप्नेलाई अवसर नदिऊँ, कांग्रेस र एमाले मिलेर सरकार चलाउन् – Nepal Press

कमल थापाको सुझाव- च्याँखे थाप्नेलाई अवसर नदिऊँ, कांग्रेस र एमाले मिलेर सरकार चलाउन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी पाँच वर्ष देशका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउन सुझाव दिएका छन् । राजनीतिमा च्याँखे थापेर स्वार्थसिद्ध गर्न चाहने अवसरवादीहरूलाई निरुत्साहित गर्न यस्तो सरकार आवश्यक भएको उनको तर्क छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नयाँ सत्ता समीकरणबारे आफ्नो सुझाव प्रस्तुत गरेका हुन् । संविधान निर्माणको बेला कांग्रेस र एमालेले संयुक्त सरकार बनाएर संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गरेका छन् ।

‘अहिले फेरि एक पटक संविधानको रक्षाका निमित्त, संविधानको भावनाअनुसार राज्य सञ्चालनको आधार तयार गर्नका निम्ति मुलुकमा शान्ति र स्थायित्व कायम गर्न तथा आर्थिक समृद्धि हासिल गर्न नेपाली कांग्रेस र एमाले मिलेर दिगो समझदारी कायम गरी पाँच वर्ष संयुक्त सरकार गठन गर्नु देश र जनताको हितमा हुनेछ ।

उनी थप्छन्, ‘अपवित्र गठबन्धन बनाएर वा लोभ लालच र प्रलोभनको आधारमा सांसदहरूलाई आफ्नो पक्षमा पारेर देशले भोग्नु परेको संकट कदापि समाधान हुँदैन । च्याँखे थापेर स्वार्थसिद्ध गर्न चाहने अवसरवादीहरूलाई निरुत्साहित गर्नु जरुरी छ ।’

कांग्रेस र एमालेको संयुक्त सरकार बनेको अवस्थामा युवाहरूको नवोदित राजनीतिक दलहरूले पनि प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्ने र भविष्यमा राष्ट्रको नेतृत्व लिने अनुभव हासिल गर्न सक्ने उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर