भावी सरकारबारे रास्वपा ‘पर्ख र हेर’ मा, गगन थापाप्रति ‘सफ्ट कर्नर’ – Nepal Press

भावी सरकारबारे रास्वपा ‘पर्ख र हेर’ मा, गगन थापाप्रति ‘सफ्ट कर्नर’

काठमाडौं । पहिलो प्रयासमै संसद‍्मा बलियो उपस्थिति निश्चित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनका सन्दर्भमा भने मौन देखिएको छ । पार्टीले अहिलेसम्म भावी सरकारलाई लिएर कुनै खाले गृहकार्य सुरु गरेको छैन ।

रास्वपा प्रवक्ता डा. मुकुल ढकाल प्रतिनिधिसभाको सबै क्षेत्र र समानुपातिकको अन्तिम मत परिणाम आइसकेपछि पार्टीको औपचारिक बैठक बस्ने बताउँछन् ।

नेपाल प्रेससँग उनले भने, ‘हामीले अहिलेसम्म सरकार गठनका विषयमा औपचारिक छलफल सुरु गरेका छैनौँ । चुनावको अन्तिम परिणाम आइसकेपछि व्यापक तयारीसहित केन्द्रीय समिति बसेर निष्कर्षमा पुग्छौँ ।’

पार्टीको वसुन्धरास्थित केन्द्रीय कार्यालयमा आउने कार्यकर्ताहरूको सबैभन्दा ठूलो चासोको विषय पनि यही रहेको छ । पार्टी पंक्तिमा सरकारमा जानुपर्छ भन्ने र जानु हुँदैन भन्ने मत आधा–आधा रहेको डा। ढकाल बताउँछन् ।

‘एकथरीले हामीलाई अब बन्ने सरकारमा गएर फटाफट काम गर्न सुझाव दिइरहनुभएको छ । अर्काथरीले चाहिँ जनादेश अनुसार प्रतिपक्षमा बसेर सरकारको निगरानी गर्नुपर्ने धारणा राख्नुभएको छ,’ उनले भने ।

रास्वपा अध्यक्ष रवि लामिछाने भने अहिले चितवनमा छन् । चुनाव जिते लगत्तै उनी जनताका विभिन्न मुद्दाहरूको सम्बोधनका लागि फिल्डमा उत्रिसकेका छन् । अन्य नेताहरू पनि काठमाडौंमा एकत्रित हुन बाँकी नै छ ।

आगामी सरकारबारे निर्णय गर्दा पार्टीले व्यक्तिभन्दा एजेन्डालाई प्राथमिकता दिने डा. ढकाल बताउँछन् । ‘हाम्रा एजेन्डाहरू सरकारका प्राथमिकतामा परेनन् भने सरकारमा जानु वा समर्थन गर्नुको औचित्य हुँदैन,’ उनी भन्छन् । खासगर भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित विषयमा रास्वपाको चासो छ ।

गगनप्रति झुकाव

सरकारमा जाने वा नजानेबारे अनिर्णीत रहे पनि भावी प्रधानमन्त्रीमा ‘पुराना अनुहार’ लाई समर्थन नगर्ने मनस्थितिमा रास्वपा छ । अहिले चर्चामा रहेका अधिकांश नाममा उसले रुचि देखाएको छैन । यद्यपि, कांग्रेस नेता गगन थापाप्रति पार्टीको ‘सफ्ट कर्नर’ देखिन्छ ।

गगनले काठमाडौंमा घण्टिका उम्मेदवारहरूलाई भित्री रुपमा सघाएको चर्चा थियो । यता, रास्वपाले पनि गगनको निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएन । यसलाई लिएर गगन र रास्वपाबीच साँठगाँठ रहेको दाबी कतिपय कांग्रेसकै कार्यकर्ताहरूले गरिरहेका छन् । त्यसो भए प्रधानमन्त्रीमा के रास्वपाले गगनलाई समर्थन गर्ला ?

यदि गगनले कांग्रेसको संसदीय दलको नेता जितेको खण्डमा उनको पक्षमा खुल्न सकिने रास्वपाका एक नेताले बताए ।

‘अहिल्यै हामीले बोल्दा हतारो हुन्छ । तर, गगनले यदि संसदीय दलको चुनाव जितेको खण्डमा हामी अवश्य समर्थन गर्नेछौँ,’ ती नेताले भने ।

तर, गगन पार्टीको प्रतिस्पर्धामा असफल भएको खण्डमा चाहिँ रास्वपा अर्को विकल्पमा जानुपर्ने हुन्छ । त्यो विकल्प भनेको अर्को कुनै उम्मेदवारलाई समर्थन गर्ने, प्रतिपक्षमा बस्ने वा आफैँले सरकारको नेतृत्व दाबी गर्ने हो । रवि लामिछानेलाई नै प्रधानमन्त्रीका रूपमा प्रस्तावित गर्नुपर्छ भन्नेहरू पनि पार्टीभित्र छन् ।

रास्वपाको उच्च स्रोतले यदि गगनको बाटो बन्द भएको खण्डमा रवि स्वयम्ले आफूलाई अघि बढाउन सक्ने बतायो ।

‘पार्टीको आकारको हिसाबले हामी सानो छौँ । तर, रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्छ भन्ने जमात देशमा ठूलो छ । त्यसैले उहाँले प्रधानमन्त्री पदमा दावेदारी गर्दा त्यो अस्वाभाविक हुँदैन,’ स्रोतले भन्यो ।

रवि स्वयम्ले भने यसपालि प्रधानमन्त्रीमै दाबी गर्ने खालको मनसाय प्रस्तुत गरेका छैनन् । उनी ‘पर्ख र हेर’ अको अवस्थामा रहेका छन् । आगामी दिनमा हुन सक्ने राजनीतिक विकास क्रमलाई हेरेर रविले निर्णय लिने पार्टी स्रोत बताउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर