रुपन्देहीमा सत्ता गठबन्धन असफल, कांग्रेसले गुमायो एक्लै जितेका ३ क्षेत्र – Nepal Press

रुपन्देहीमा सत्ता गठबन्धन असफल, कांग्रेसले गुमायो एक्लै जितेका ३ क्षेत्र

रुपन्देही । रुपन्देहीका पाँच वटै प्रतिनिधिसभाका क्षेत्रमा सत्ता गठबन्धन पूर्ण असफल भएको छ । यहाँ एमालेले ३ क्षेत्र जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले एकएक क्षेत्र जितेका छन् ।

नेपाली कांग्रेसले यसअघि एमाले र माओवादीबीच वाम तालमेल हुँदा एकल रुपमा जितेका तीन क्षेत्र अहिले गुमाएको छ । रुपन्देहीमा सत्ता गठबन्धनका ४ दलसँगै जनमुक्ति, लोसपा र नेसपाको सहयोग थियो । त्यस्तै एमाले, राप्रपा र जसपाबीच चुनावी तालमेल भएको थियो ।

प्रदेशसभामा सत्ता गठबन्धनकाे माओवादी शून्य हुँदा कांग्रेसले २ सीट जितेको छ । गठबन्धनमा रहे पनि मित्रवत प्रतिस्पर्धा गरेको लोसपाले पनि रुपन्देहीमा २ क्षेत्र जितेको छ ।

सत्ता गठबन्धनबाट क्षेत्र नं ३, ४ र ५ को प्रतिनिधिसभा कांग्रेस, १ माओवादी र २ नेकपा एसलाई भागबन्डा भएको थियो । तर २ नम्बर क्षेत्रमा अन्तिम समयमा उम्मेदवारी खारेज भएपछि जनमुक्तिलाई समर्थन गरिएको थियो । एमाले, राप्रपा र जसपाको तालमेलमा १, २ र ५ एमाले, ३ राप्रपा र ४ जसपालाई भागबन्डा गरिएको थियो ।

प्रतिनिधिसभामा क्षेत्र नं १ बाट एमालेका छविलाल विश्वकर्मा सत्ता गठबन्धनका घनश्याम भुसाललाई हराउँदै विजयी भए । विश्वकर्माले २४ हजार ८७२ मत ल्याउँदा भुसाल २१ हजार ३०८ मतमा रोकिए । यहाँको प्रदेशसभा १ बाट राप्रपाका आशिष चौधरी र २ बाट कांग्रेसका अब्दुल रज्जाक विजयी भए ।

क्षेत्र नं २ बाट एमालेका विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गर्दै विजयी भए । यहाँ सत्ता गठबन्धनका उम्मेदवार जनमुक्तिका केशवबहादुर थापा तेस्रो भए । यो क्षेत्रको प्रदेशसभा १ मा एमालेका लीला गिरी र प्रदेश २ मा भोजप्रसाद श्रेष्ठ विजयी भए ।

क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष दीपक बोहोराले नेपाली कांग्रेसका बालकृष्ण खाणलाई पराजित गर्दै विजयी भएका छन् । बोहोराले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार ६ मतमात्रै पाए । यहाँको प्रदेशसभा १ मा लोसपाका सन्तोष पाण्डे र २ मा एमालेका तुलसी चौधरी विजयी भए ।

क्षेत्र नं ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ल नेपाली कांग्रेसका प्रमोद यादवलाई पराजित गर्दै विजयी भए । शुक्लले २८ हजार मत ल्याउँदा यादवले २२ हजार ७०४ मत पाए । यहाँको प्रदेशसभा १ मा लोसपाका कन्हैया बानिया र २ मा नेपाली कांग्रेसका बसिउद्दिन खा विजयी भए ।

क्षेत्र न ५ मा एमालेका वासुदेव घिमिरेले कांग्रेसका भरत शाहलाई पराजित गर्दै विजयी भए । घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाह २७ हजार १२० मतमा रोकिए । यहाँको प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल र २ मा जनमत पार्टीका सीके गुप्ता विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर