मंगल गुप्ताको ३६ वर्षे चुनावी संघर्ष- पाँचौँ प्रयासमा पाँचौ पार्टीबाट पहिलो जित – Nepal Press

मंगल गुप्ताको ३६ वर्षे चुनावी संघर्ष- पाँचौँ प्रयासमा पाँचौ पार्टीबाट पहिलो जित

रुपन्देही । पञ्चायतकालदेखि विभिन्न पार्टीबाट निर्वाचन लडेर पराजित हुँदै आएका कपिलवस्तुका मंगलप्रसाद गुप्ता पहिलो पटक संसद बन्ने अवसर पाएका छन् । गतवर्ष पुस ८ गते नेकपा एमालेमा प्रवेश गरेका उनी एक वर्ष पूरा नहुँदै टिकट पाएर निर्वाचन जितेर सांसद बन्ने बाटाे खुलेकाे छ ।

गुप्ता चुनाव हार्ने अभागी नेतामा पर्छन् । पञ्चायतकालदेखि संसदीय चुनाव लड्दै आएका गुप्ताले अहिलेसम्म जित निकाल्न सकेका थिएनन् । तर अहिले एमालेबाट यो निर्वाचनमा भने उनको जित भएको हो ।

पञ्चायत, नेपाली कांग्रेस, मधेस केन्द्रीत गरी विभिन्न ५ दलबाट पटक पटक चुनाव हार्दै यहाँसम्म आएका गुप्ता एक वर्ष अगाडि एमाले प्रवेश गरेका थिए । जीवनको उत्तरार्धमा पुगेका उनले यो पटक नेकपा एमालेबाट चुनाव जितेर आफ्नो धोको पूरा गरेका छन् ।

गुप्ता कपिलवस्तु क्षेत्र नम्बर ३ बाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो स्थानमा थिए । कांग्रेसका अभिषेकप्रताप साहले २० हजार मत प्राप्त गरेर जित्दा उनले करीव १६ हजार मत प्राप्त गरेका थिए ।

एमाले तुलनात्मक रुपमा कमजोर रहेको सो क्षेत्रमा अघिल्लो निर्वाचनमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका ईश्वरदयाल मिश्र सूर्य चिन्हबाट उम्मेदवार हुँदा १४ हजार मतसहित तेस्रो स्थानमा थिए ।

पश्चिम कपिलवस्तुका लोकप्रिय नेता मंगल गुप्ता एमाले प्रवेश गरेपछि यहाँ एमाले बलियो भएको कपिलवस्तुका एमाले नेताहरु बताएका थिए । गुप्ताको नतिजाले त्यसलाई प्रमाणित गरेको छ ।

लामो समय कपिलवस्तुमा राजनीति गरेका मंगलप्रसाद गुप्ता कांग्रेस, तमलोपा, फोरमबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए । २०४७ र २०५६ मा कांग्रेसबाट उम्मेदवार भएका उनी २०७० मा तमलोपा र २०७४ मा फोरमबाट लडेका थिए । तर सबै चुनावमा उनी थोरै मतले पराजित हुँदै आएका छन् । छोराबुहारी अमेरिकामा रहेका ७३ वर्षीय गुप्ता पनि जानेआउने गर्दछन् । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा लामो समय राजनीति गरेका उनको एमाले प्रवेशसँगै सो क्षेत्रमा एमाले बलियो बताएका छन् ।

अहिलेको निर्वाचन प्रकृया सुरु भएसँगै एमालेले उनलाई टिकट दिने कुरा टुंगिएको थियो । त्यो सँगै उनी प्रचारमा लागेका थिए । चुनावी अभियानमा यहाँका बलियो उम्मेदार मानिएका नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले सजिलै जित्नसक्ने आंकलन धेरैको थियो । विभिन्न सर्वेक्षणले पनि शाहले चुनाव जित्ने आधार देखाएको थियो तर परिणाम उल्टो आएको छ ।

गुप्तासँग नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा थिए । उनी २०६४ सालयता निरन्तर सांसद रहेका छन् । शाहलाई चौथोपटक सांसद बन्ने प्रयासमा ब्रेक लागेको छ । शाह ०६४ मा तमलोपा, २०७० सालमा सङ्घीय समाजवादी हुँदै २०७४ मा नेपाली कांग्रेस प्रवेश गरेर चुनाव लडेर जितेका थिए ।

दक्षिणी कपिलवस्तुको शाह परिवारका सदस्य रहेका उनी अघिल्लो निर्वाचनअघि कांग्रेस प्रवेश गरेर चुनाव जितेका थिए । पार्टीको केन्द्रीय सदस्य बनिसकेका उनलाई गुप्ताले पहिलो पटक पराजित गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर