२०७४ मा थ्रेसहोल्ड नकट्दा ४४ दलको १० लाख मत खेर गयो, यसपालि ४१ दलको उस्तै नियति ? – Nepal Press

२०७४ मा थ्रेसहोल्ड नकट्दा ४४ दलको १० लाख मत खेर गयो, यसपालि ४१ दलको उस्तै नियति ?

काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा निर्वाचन अन्तरगत समानुपातिक तर्फ ४४ दलले थ्रेसहोल्ड कटाउन नसक्दा करिब १० लाख मत खेर गएको थियो ।

०७४ मा ४९ दलमध्ये ५ ले मात्रै ३ प्रतिशतको थ्रेस होल्ड कटाएका थिए । बाँकी ४४ दलले पाएको ९ लाख ९६ हजार ७२० मत खेर गएको थियो ।

थ्रेस होल्ड नकटाए पनि धेरै मत सो निर्वाचनमा विवेकशील साँझ पार्टीले पाएको थियो । सो पार्टीले १२ हजार ३६४ मत प्राप्त गरेको थियो भने, सबैभन्दा कम हाम्रो पार्टीले ४२६ मत प्राप्त गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार ७८२ मत प्राप्त गरेको थियो । यस पटक भने राप्रपाले समानुपातिकतर्फ करिब ५० लाख मतगणना हुँदा साढे ३ लाख भन्दा बढी मत प्राप्त गरिसको छ ।

गत निर्वाचनमा १ लाख भन्दा कम र ५० हजार भन्दा बढी मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत रहेका थिए ।

गत निर्वाचनमा खसेको १ करोड ४ लाख मत खसेकोमा समानुपातिकतर्फ राजनीतिक दलले प्राप्त गरेको ९५ लाख ४४ हजार ७७९ मत सदर भएको थियो ।

आयोगका अनुसार यस पटक पनि ५ देखि ६ दलले बाहेक अन्य दलले थ्रेस होल्ड नकटाएका कारण उनीहरूले प्राप्त गरेको मत खेर जाने अनुमान गरिएको छ । यस पटक प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचनमा ४७ दल सहभागी भएका छन् ।

अहिलेसम्म नेकपा (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीले थ्रेस होल्ड कटाउने सम्भावना छ ।

यद्यपि अहिलेसम्म करिब ५० प्रतिशत मात्रै समानुपातिकतर्फको मतगणनाको नतिजा सार्वजनिक भएकाले नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लगायतका दलले ह्वात्तै मत बढाउन सकेमा उनीहरुमध्य कुनै दल थ्रेस होल्ड कटाउने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर