धनुषा २ मा अरगरियाले प्रदेशमा खसेको प्रतिनिधिसभाको मत नगनेको भन्दै जनाए आपत्ति (भिडिओ) – Nepal Press

धनुषा २ मा अरगरियाले प्रदेशमा खसेको प्रतिनिधिसभाको मत नगनेको भन्दै जनाए आपत्ति (भिडिओ)

जनकपुरधाम । धनुषा २ का नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले प्रदेश सभातर्फको मतपेटिकामा खसेको प्रतिनिधिसभाको सदर मतपत्र गणना नगरेकोमा आपत्ति जनाएका छन् ।

जनकपुरधाममा पत्रकार सम्मेलन गरी उम्मेदवार अरगरियाले निर्वाचन आयोगको निर्देशिका बमोजिम सदर मत गणना गर्नुपर्ने माग गरेका हुन् । उनले कांग्रेसबाट परिचालित मुख्य निर्वाचन अधिकृत श्रीधर्म अवतार कोइरालाले मतगणनामा धांधली गरेको आरोप लगाए ।

प्रदेशसभा तर्फको मतपेटिकामा प्रतिनिधीसभाको मतपत्र भेटिन थालेपछि तत्कालै निवेदन दिन खोजेको थिए’, उनले भने, ’तर मुख्य निर्वाचन अधिकृतले निवेदन नै लिन मान्नु भएन । उहांले पछि त्यो मत पनि गणना गर्ने आश्वासन दिनुभएको थियो । तर त्यो मतलाई बदर गरी परिणाम घोषणा गर्नुभयो ।’

उम्मेदवार अरगरियाले मुख्य निर्वाचन अधिकृतले जानकारी बिना अर्को ठाउमा पनि मतगणना सुरु गरेको र आधा घण्टामै १६ वटा वडाको मतगणना सकाएकोमा आपत्ति जनाए । उनले भने, ’मतगणना प्रक्रिया समेत शंकास्पद देखिएको छ । त्यसैले पुनः मतगणना पनि गर्नुपर्छ ।’

उनले भने, ‘५ सय मतले आफू अगाडी रहेकै बेला कांग्रेस कार्यकर्ताहरु रामकृष्ण यादव विजयी भएको भनेर डिजे बजाउन थालेको थियो । उनीहरु कसरी बुझे कि रामकृष्ण जित्छन् ? यसले पनि प्रष्ट हुन्छ कि धांधली भएको छ ।’

मतगणनामा धांधली गरेका मुख्य निर्वाचन अधिकृत कोइरालालाई कारबाही गर्नुपर्ने र प्रदेशसभा तर्फको बाकसमा खसेको प्रतिनिधीसभाको सदर करिब ४ सय मतपत्र पुनः गणना गर्नुपर्ने माग गरेका छन् । उनले सदर मतपत्र गणना नगरे आन्दोलन र कानूनी लडाई लड्ने चेतावनी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको परिणाम अनुसार अरगरियाले १९ हजार ९९५ र कांग्रेसका रामकृष्ण यादवले २० हजार ११२ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर