सुदूरपश्चिममा बहुमततर्फ सत्तागठबन्धन, को बन्ला मुख्यमन्त्री ? – Nepal Press

सुदूरपश्चिममा बहुमततर्फ सत्तागठबन्धन, को बन्ला मुख्यमन्त्री ?

कैलाली । बाजुराबाहेक सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा करिब मतगणना सकिएको छ । नतिजा आइरहँदा प्रदेश सरकारको जोडघटाउ पनि सुरू हुन थालेको छ । ३० निर्वाचन क्षेत्रबाट प्राप्त ताजा परिणामअनुसार सत्तागठबन्धनलाई प्रदेश सरकार बनाउन सहज हुने देखिएको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ११ क्षेत्रमा विजयी हुँदा माओवादी केन्द्र ८ क्षेत्र र नेकपा एकीकृत समाजवादी २ क्षेत्रमा विजयी भएको छ ।

नागरिक उन्मुक्तिले ५, एमालेले ३ सीट र स्वतन्त्रले एक सीट जितेको छ ।

नेपाली कांग्रेसका कमल शाह, प्रकाश बम, प्रकाश देउवा, बेलबहादुर राना मगर, बहादुर सिंह थापा, देवानसिंह विष्ट , विक्रम धामी, पृथ्वीबहादुर सिंह, शिवराज भट्ट, मेघराज खड्का र मानबहादुर रावल विजयी भएका छन् ।

माओवादी केन्द्रबाट रमेश धामी, खगराज भट्ट, ओमविक्रम भाट, भीमबहादुर भण्डारी, शिवसिंह ओली झपटबहादुर साउद र अक्कल रावल, मानबहादुर धामी विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र दीर्घ सोडारी निर्वाचित भएका छन् ।

गठबन्धनका तीन दलको प्रत्यक्ष तर्फबाट २१ जना सांसद पुगेका छन् । यहाँ २७ सांसद हुँदा सरकार बन्छ । यसरी तीन दलको स्पष्ट सरकार बन्ने देखिन्छ ।

तर, प्रतिनिधिसभातर्फ एक क्षेत्र पनि नजितेको माओवादीले कांग्रेसबाट घात भएको टिप्पणी गर्न थालेको छ ।

‘प्रदेशमा राम्रै नतिजा आएपनि संघमा कांग्रेसले धोका भयो । यस विषयमा समीक्षा हुन्छ । यही गठबन्धनमा रहने-नरहने भन्ने केन्द्रीय राजनीतिमा भर पर्छ’, माओवादीका एक नेताले नेपाल प्रेससँग भने ।

अघिल्लो पटक सुदूरपश्चिम प्रदेशमा एमालेले प्रत्यक्षतर्फ १७ र माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १० क्षेत्र जितेको थिए । ८ जना समानुपातिक सांसद एमालेले पाउँदा माओवादीले ४ जना माओवादीले पाएको थियो । अहिले ११ जना प्रदेशमा कांग्रेसले प्रत्यक्ष जित्दा ४ वा ५ जना समानुपातिक सांसद आउने आँकलन गरिएको छ । माओवादीले ८ जना प्रत्यक्ष जित्दा ३ जनासम्म समानुपातिक आउने अनुमान छ । नेकपा एकीकृत समाजवादीका २ सांसद जोड्दा २८ वा २९ पुग्नसक्ने विश्लेषण छ ।

डडेल्धुरामा सत्ता गठबन्धनले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका डा. तारा जोशी पनि गठबन्धनमा रहन सक्ने बताइएको छ । उनी नेकपा एसमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । उनी सरकारमा सहभागी नहुँदा पनि बहुमत पुग्ने देखिन्छ ।

को बन्ला मुख्यमन्त्री ?

यही गठबन्धनको सरकार बन्ने अवस्था आए मुख्यमन्त्रीका लागि माओवादीबाट खगराज भट्टको सम्भावना बढी छ । चुनावभन्दा पहिले डडेल्धुरामा आयोजना भएको सत्तागठबन्धनको कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका थिए ।

२०६४, ७० र ०७४ गरी लगातार संघीय निर्वाचनमा देउवासँगै पराजित भएका भट्ट यस पटक देउवाकै सहयोगमा प्रदेशसभामा विजयी भएका छन् । निर्वाचित ८ जनामध्ये भट्ट माओवादीका सबैभन्दा सिनियर नेता हुन् । उनी माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज पनि हुन् ।

कांग्रेसबाटै पनि दाबेदारहरू छन् । भावी मुख्यमन्त्रीको रूपमा हेरिएका अघिल्लो पटक निर्वाचन जितेर संसदीय दलका नेता भएका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावल निर्वाचनमै पराजित भएपछि मुख्यमन्त्रीको दौडमा संख्या कम भएको छ । उनी अहिले पनि सरकारका प्रवक्ता हुन् ।

बहालवाल सामाजिक विकास मन्त्री गोविन्द बोहरा पनि डडेल्धुराबाट पराजित भए । उनलाई स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले हराएका हुन् । उनी पराजित भएसँगै सम्भावित मुख्यमन्त्रीको अवसर पनि गुमाएका छन् ।

अब कांग्रेसका प्रत्यक्षबाट निर्वाचित ११ जनामध्ये कैलालीबाट प्रदेश सभामा निर्वाचित भएका प्रकाश देउवा, अछामबाट निर्वाचित भएका मेघराज खड्का र कञ्चनपुरबाट निर्वाचित भएका बहादुर सिंह थापाको सम्भावना बढी छ । थापा संविधानसभा सदस्य हुन् भने खड्का कांग्रेस प्रदेश महामन्त्री हुन् । देउवा महाधिवेशन प्रतिनिधिमात्रै हुन् । उनी शेरबहादुर देउवाको भतिजा हुन् । शेरबहादुर देउवाको भतिजा भएकै कारण प्रकाश देउवाको सम्भावना बढी रहेको उनी निकट नेता कार्यकर्ताहरूको भनाइ छ ।

‘कांग्रेस प्रदेश महामन्त्री खड्काले सुदूरपश्चिममा गठबन्धनकै सरकार बन्ने बताउँछन् । गठबन्धनकै सरकार बन्छ हामी सरकारमा मिलेर जान्छौँ’ उनले भने ‘मुख्यमन्त्री कुन दलले पाउने भन्ने बारे शीर्ष नेताहरूले टुंगो लगाउनुहुन्छ ।’

यता माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट पनि वर्तमान गठबन्धनकै सुदूरपश्चिममा सरकार बन्ने बताउँछन् । उनले यसबारे १८ गतेपछि छलफल थाल्ने बताए ।

मुख्यमन्त्रीको विषयमा उनले पार्टी र गठबन्धनले गरेको निर्णयलाई नै संकेत गरे ।

उनले भने, ‘मुख्यमन्त्री कसलाई बनाउने भन्ने बारे शीर्ष नेतामा छलफल होला तर, यसअघि नै मुख्यमन्त्री बनाउने भन्दै पार्टीभित्र र गठबन्धनमा पनि सहमति भइसकेको छ ।’

प्रदेशस्तरका नेताहरू यही गठबन्धनले सरकार बनाउन सकिने लक्षण देखिएपछि हौसिएका छन् । तर, केन्द्रीय राजनीतिमा हुने समीकरण हेरफेरको प्रभाव यहाँ पनि पर्ने देखिन्छ । त्यो नभएमा यहाँ माओवादी, कांग्रेस र नेकपा एसमात्रै पनि मिल्ने सम्भावनालाई नेताहरू नकार्दैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर