किन रोकियो रुपन्देही २ मा गणना ? यस्तो छ आन्तरिक कुरा – Nepal Press

किन रोकियो रुपन्देही २ मा गणना ? यस्तो छ आन्तरिक कुरा

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा रहेको मतपत्रभन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको छ । बिहान ५ः३० बजेबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उदबीर नेपालीले बताए ।

मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतगणना स्थगित गर्न माग गर्दै बिरोध जनाएका छन् । उनीहरु मतगणना छाडेर धर्ना बसेपछि रोकिएको मतगणना अहिलेसम्म सुरु भएको छैन ।

मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीले दाबी गरे । गठबन्धनलगायत राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले रुपन्देही २ मा पुुनः मतदान लगायतका माग राख्दै बिरोध जनाएका छन् ।

यस्तो छ घटनाको विवरण

मंसिर ४ मा सम्पन्न निर्वाचन अन्तरगत रुपन्देही क्षेत्र नम्बर २ को लुम्बिनी बाणिज्य क्याम्पस ‘ड’ मा जम्मा मत ६२९ खसेको थियो । उक्त मतको संख्यासमेत उल्लेख गरी मुचुल्का तयार पारी निर्वाचन अधिकृतको कार्यालय बुटवल ४ मा रहेको बुटवल उपमहानगरको कार्यालयमा लगियो । मतदान केन्द्रमा ३८८ जना महिला र पुरुष २४१ गरी जम्मा ६२९ मत खसेको कुरा मुचुल्कामा उल्लेख गरिएको छ ।

उक्त तत्थ्याङ्कलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा भने महिलाको सङ्ख्या फरक पर्न गएको छ । वास्तविक सङ्ख्या महिलाको मत ३८८ हुनुपर्नेमा टाइपिङ फरक परी ५० मत कम देखिने गरी ३३८ लेखिएको छ ।

यसरी महिलाको फरक तथ्याङ्कसहितको मत र पुरुषको मत जोडेर ५७९ कम्प्युटरमा प्रविष्ट गरिएको छ । मतमेटिकामा र मुचुल्कामा उल्लेख गरिएको एकमुष्ट सङ्ख्या ६२९ नै हुनुपर्नेमा अन्यथा भएको देखिन्छ ।

कम्प्युटरमा प्रविष्ट गर्ने समयमा फरक सङ्ख्या उल्लेख गरिएको कुरा स्वीकार गर्दै निर्वाचन आयोगले मतपेटिकामा भएको र मुचुल्कामा भएको सङ्ख्या नै सही भएको स्पष्ट पारेको छ । कम्प्युटरमा डाटा फरक देखिनुमा नियतबस नभई प्राविधिक कारणले त्रुटि भएको र कहिलेकाँही हुने मानवीय त्रुटिलाई ठूलो बनाउन नहुने भन्दै एक पक्षले भने गणना सुचारु गर्न माग गरेका छन् ।

निर्वाचन कार्यालयले जिल्ला निर्वाचन कार्यालयसँग समन्वय गरी तत्काल सर्वदलीय बैठक बोलाएर समस्या समाधान गर्ने जनाएको छ ।

प्रतिक्रिया

One thought on “किन रोकियो रुपन्देही २ मा गणना ? यस्तो छ आन्तरिक कुरा

  1. स्पष्ट छ गठबन्धनले हार्ने भएर बखेडा झिकेका हुन् । नकचराहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर