भक्तपुरमा क्लिनस्वीप हुन नदिएका एमालेका ‘किरण’ – Nepal Press

भक्तपुरमा क्लिनस्वीप हुन नदिएका एमालेका ‘किरण’

भक्तपुर । गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनताका सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी थिए, किरण थापा । २०७४ को स्थानीय तह निर्वाचनमा सूर्यविनायक नपाको ८ नम्बर वडामा अध्यक्षमा निर्वाचित भएका किरण स्वाभाविक रुपमा मेयरका दावेदार थिए ।

तर, नेकपा एमालेको भक्तपुर जिल्ला सचिव रहेका वासुदेव थापाले मेयरमा दोहोरिन चाहेपछि उनको दाबी कमजोर बन्यो । मेयरका लागि किरणको नाम पार्टीमा सिफारिससमेत भएको थियो । तर, पार्टीले बासुदेव थापालाई दोस्रोपटक टिकट दियो । किरणलाई भने प्रदेशसभामा टिकट दिने आश्वासन दिइयो । त्यसपछि उनी मेयरको उम्मेदवारबाट ब्याक भएर र पार्टीबाट उम्मेदवार भएका थापालाई जिताउन लागे ।

स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । एमाले एक्लै चुनावी प्रतिस्पर्धामा थियो । भक्तपुरको चार स्थानीय तहमध्ये एमालेले यही सूर्यविनायक नगरपालिकामात्रै जितेको थियो ।

मेयरको टिकट नपाएपछि धेरैले उनले अब ‘असहयोग’ गर्छन् भन्ने अनुमान गरेका थिए । तर, उनले मेयरका उम्मेदवार थापालाई यति धेरै सहयोग गरे कि उनको वडा नम्बर ८ बाट एकछाप २ हजार मत मेयर थापालाई खनाए । उनको वडामा पनि एमाले उम्मेदवारले शत प्रतिशत नतिजा ल्याए ।

इमानदारीपूर्वक एमाले उम्मेदवारलाई सहयोग गरेपछि पार्टीका सबै नेताको आँखामा थापा परे । एमाले अध्यक्ष केपी ओलीले समेत थापाको प्रशंसा गर्दै मेयर जिताएकोमा थापालाई धन्यवाद दिएका थिए ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ प्रदेशसभा १ बाट उनीसहित तीन जनाको नाम सिफारिस भएको थियो । थापासहित एमाले भक्तपुरका पूर्वअध्यक्ष राजेन्द्र राजथला र निवर्तमान प्रदेश सांसद शशिजंग थापाको नाम सिफारिस भएको थियो । जसमा किरणले बाजी मारेर टिकट हात पारे ।

भक्तपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ क्षेत्र रहेका छन् । भक्तपुर क्षेत्र नं २ मा एमाले उम्मेदवार महेश बस्नेत सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीसँग पराजित भइसकेका छन् । क्षेत्र नं १ मा पनि एमाले उम्मेदवार नवराज गेलाल नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालसँग पराजित भएका छन् । यस क्षेत्रको प्रदेशसभा १ मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ र प्रदेशसभा २ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईं निर्वाचित भए । एमाले प्रदेशसभा १ मा दोस्रो स्थानमा रहँदा प्रदेशसभा २ मा तेस्रो हुन पुग्यो ।

भक्तपुर क्षेत्र नं २ प्रदेशसभा १ मा भने किरणले गठबन्धनका साझा उम्मेदवार कांग्रेसका विष्णुराज कार्कीलाई पराजित गरेर एमालेको विरासत जोगाए । प्रतिकूल अवस्थामा पार्टीलाई सहयोग गरेको र पार्टीप्रति इमानदार नेताको छवि बनाएका किरणले भक्तपुरमा एमालेलाई क्लिनस्वीप हुनबाट जोगाएका छन् । किरणले १५ हजार २४२ मत ल्याउँदा कांग्रेस उम्मेदवार कार्की ११ हजार ९३५ मा रोकिएका थिए । प्रतिद्वन्द्वीभन्दा ३ हजार ३०७ बढी मत ल्याएर उनले भक्तपुरमा एमालेको साख जोगाएका छन् ।

यस क्षेत्रको प्रदेशसभा २ मा सत्तम गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ विजयी भइसकेका छन् । २०७४ सालमा एमालेबाटै विजयी श्रेष्ठले यसपटक एमालेकै चन्दनकृष्ण श्रेष्ठलाई पराजित गरेका हन् ।

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा लामो समयदेखि क्रसर व्यवसाय सञ्चालन गरिरहेका थापा २०७४ को स्थानीय तह निर्वाचनदेखि भने पूर्णकालीन रुपमा एमालेको राजनीतिमा सक्रिय छन् । वडाध्यक्ष हुँदा किरण कुनै पनि विवादमा नपरी सबैको मन जित्न सफल भएका थिए ।

मिलनसार, भद्र र नरम स्वभावका किरणले प्रदेशसभामा पुगे पनि स्थानीय तहमा हुँदा बाँकी रहेका कामलाई पूरा गर्ने बताएका छन् । ‘हिजो हामीले प्रदेश र संघमार्फत धेरै विकास निर्माणका काम गरेका छौं । अझै धेरै गर्न बाँकी छ । जनतालाई निराश नहुने गरी काम गर्नेछु’, प्रदेशसभामा निर्वाचित भएपछि थापाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर