एमाले महासचिवको गृहजिल्लामा सत्तारुढ गठबन्धनको ‘क्लिनस्वीप’ – Nepal Press

एमाले महासचिवको गृहजिल्लामा सत्तारुढ गठबन्धनको ‘क्लिनस्वीप’

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा सत्तारुढ दलको गठबन्धनले सबै क्षेत्रमा जित निकालेको छ । महासचिव पोखरेल आफै उम्मेदवार रहेको यो जिल्लामा तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

घोषित मत परिणामअनुसार सबै क्षेत्र गठबन्धन दलहरूले जितेका छन्। प्रतिनिधि सभामा क्षेत्र नं १ नेकपा एस, २ माओवादी केन्द्र र ३ नेपाली कांग्रेसले जितेका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका सत्तारुढ दल आपसमा नमिल्दा घोराही र तुल्सीपुर उपमहानगर पालिका गुमाएका थिए । त्यही आधारमा एमालेले केही क्षेत्र जित्ने आंकलन गरिएको थियो ।

कांग्रेसले एक प्रतिनिधिसभा सदस्यसहित चार प्रदेशसभा, माओवादी केन्द्रले एक प्रतिनिधिसभा सदस्यसहित दुई प्रदेशसभा र नेकपा एसले एक प्रतिनिधिसभा पाउने गरी गरेको गठबन्धनले शतप्रतिशत नतिजा निकालेर नेकपा एमालेलाई क्लिनसीप पारेको हो ।

धेरै सर्वेक्षण तथा विश्लेषकहरुले एमाले महासचिव शंकर पोखरेलले क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य जित्ने आंकलन गरेका थिए तर थोरै मतान्तरले उनी पराजित भएका छन् । अर्थाले त्यो सर्वेक्षण फेल खाएको छ ।

 मेटमणिको दोस्रो जित

यसअघि नेकपा एमालेबाट चुनाव जितेका मेटमणि चौधरी अहिले पुनः निर्वाचित भएका छन् । पार्टी विभाजनको समयमा एमालेको सबैभन्दा कडा आलोचक मानिएका उनी अहिले सहरी विकास मन्त्री छन्।

गठबन्धनका उम्मेदवार चौधरी आफ्ना प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीलाई पाँच हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन्। मेटमणिले २६ हजार ५ सय ६३ मत प्राप्त गर्दा शान्ताले २१ हजार ४ सय ७९ मत ल्याएकी छन्। एमाले महासचिव पोखरेलका कडा आलोचक मेटमणिले पोखरेलको पराजयलाई प्रतिगमनको मतियारको पराजय भनेर टिप्पणी गरेका थिए ।

दाङ १ को १ मा माओवादीका इन्द्रजित थारू विजयी भएका छन् । उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रदेशको स्वास्थ्यमन्त्री रहेका थारूले १३ हजार ५ सय ५ मत प्राप्त गर्दा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरेका छन् । १ को २ मा नेपाली कांग्रेसका उम्मेदवार स्व खुमबहादुर खड्काका छोरा २८ वर्षीय अनुराग खड्का निर्वाचित भएका छन्।

अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरेका थिए।

शंकर पोखरेलविरुद्धको कठिन जित निकालिन् रेखाले

निकै थोरै मतान्तरले क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन् । रेखाले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८१ मत पाएका छन् ।

दाङ २ को १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन्। कांग्रेस प्रदेशका उपसभापति खनालले १५ हजार ६ सय १६ मत प्राप्त गर्दा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका थिए।

२ को २ मा कांग्रेसका प्रचण्डविक्रम न्यौपाने गुन्टु निर्वाचित भएका छन्। न्यौपानेले १७ हजार ४ सय २३ ल्याउँदा एमालेका गिरिराज केसीले १६ हजार ६ सय ९९ मत प्राप्त गरेका छन्।

फराकिलो मतान्तरमा दीपकको जित

क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले एमालेका कोमल वलीलाई पराजित गरेका छन्। गिरीले ७ हजार ८ सय १० मतान्तरले जित निकालेका हुन् । गिरीले ३६ हजार ८ सय ८२ मत प्राप्त गर्दा वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन्।

प्रदेशसभा ३ को १ मा कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्। यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री रहेका चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गर्दा एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत प्राप्त गरेका छन् ।

एमालेका पाण्डे प्रदेशमा संभावित मुख्यमन्त्रीको रुपमा चर्चामा आएका थिए । प्रदेशसभातर्फ ३ को २ मा माओवादीका धनबहादुर मास्की विजयी भएका छन्। मास्कीले २२ हजार ३२१ मत प्राप्त गर्दा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १५८ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर