भक्तपुरको अन्तिम नतिजा : नेमकिपाले विरासत जोगाउँदा एमाले एउटा प्रदेशमा खुम्चियो – Nepal Press

भक्तपुरको अन्तिम नतिजा : नेमकिपाले विरासत जोगाउँदा एमाले एउटा प्रदेशमा खुम्चियो

भक्तपुर । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरको अन्तिम परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार नेपाल मजदुर किसान पार्टीले आफ्नो विरासत जोगाउँदा नेकपा एमाले एउटा प्रदेशमा खुम्चिएको छ ।

प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ सीट रहेको भक्तपुरमा नेमकिपाले साविक भक्तपुर क्षेत्र नं १ र भक्तपुर क्षेत्र नं १ (२) प्रदेशसभामा जीत निकालेको छ । क्षेत्र नं १ मा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल निकटत्तम प्रतिद्वन्द्वीभन्दा करिब चौब्बर मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भक्तपुरको मुख्य निर्वाचन कार्यालयक अनुसार विजयी सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् । उनी २०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट विजयी भएका थिए ।

यहाँ एमालेका नवराज गेलाल ११ हजार ९६८ मतसहित दोस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का ९ हजार ३०३ मतसहित तेस्रो हुँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सुनिल गोठे ५ हजार २८३ मतसहित चौथो भए ।

यस क्षेत्रको प्रदेशसभा १ (२) मा नेमकिपाका सुरेन्द्रराज गोसाईंले दोस्रोपटक बाजी मारे । नेमकिपाले क्लिन स्वीप गरेको भक्तपुर नगरपालिकाको १ देखि ९ सम्मको वडा रहेको यस क्षेत्रमा गोसाईं २९ हजार ७०४ मत ल्याएर विजयी भएका हुन् ।

यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पवन भुजूले ३ हजार १६१ मत ल्याएर दोस्रो भए । एमालेका नारायणप्रसाद सिन्ताकल २ हजार ४२८ मतमा रोकिएर तेस्रो भए । यहाँ राप्रपाका रोशन नापितले १ हजार ९०५ मत ल्याए ।

क्षेत्र नं १ (१) प्रदेशसभामा भने सत्ता गठबन्धनबाट कांग्रेसका सुरेश श्रेष्ठ विजयी भए । उनले ९ हजार ४२४ मत पाए । उनका निकटत्तम प्रतिद्वन्द्वी एमालेका मोहनवीर श्रेष्ठ ८ हजार २०१ मतमा रोकिए ।

नेमकिपाका मीनबहादुर बाटा ८ हजार १४ मतसहित तेस्रो र राप्रपाका राजु कुइँकेल ५ हजार ९४५ मत ल्याएर चौथो भए ।

२०७४ को निर्वाचनमा यस क्षेत्रमा एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए । निर्वाचित लामिछानेको निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा राप्रपाको सहयोगमा कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका थिए ।

भक्तपुर क्षेत्र नं २ मा भने सत्ता गठबन्धनबाट कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् । कांग्रेस भक्तपुरका जिल्ला सभापति थापाले एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतलाई पराजित गरेका हुन् ।

विजयी थापाले २४ हजार २३९ मत पाए । २०७४ सालको निर्वाचनमा विजयी बस्नेत २३ हजार २८२ मतमा रोकिए । यस क्षेत्रमा कुनै पनि दलले दुईपटक लगातार जित्न सकेको छैन । यहाँ २०४८ सालदेखि कांग्रेस, नेमकिपा र एमालेले आलोपालो जित्दै आएका छन् ।

यस क्षेत्रमा एमालेले प्रतिनिधिसभासँगै प्रदेशसभा २ पनि गुमाएको छ । एमालेले यस क्षेत्रको प्रदेशसभा १ मा मात्रै जीत हात पारेको छ । यहाँ एमालेका किरण थापा १५ हजार २४२ मतसहित विजयी भएका हुन् ।

सत्ता गठबन्धनबाट कांग्रेसका विष्णुराज कार्की ११ हजार ९३५ मतमा रोकिएर दोस्रो भए । राप्रपाका विक्रम थापा ४ हजार २७० मतसहित तेस्रो हुँदा नेमकिपाका सरोजराज गोसाईं ३ हजार ८६ मतसहित चौथो भए ।

क्षेत्र नं १ (२) प्रदेशसभामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ निर्वाचित भए । २०७४ सालमा भएको निर्वाचनमा एमालेबाट विजयी श्रेष्ठ यसपटक एकीकृत समाजवादीबाट ८ हजार ३४१ मत ल्याएर दोस्रोपटक प्रदेश सांसद भएका छन् ।

यहाँ एमालेका चन्दनकृष्ण श्रेष्ठले ८ हजार ३१ मत ल्याएर दोस्रो हुँदा नेमकिपाका रमेश वैद्य ६ हजार ८३१ मतसहित तेस्रो भए । राप्रपाका पञ्चकृष्ण श्रेष्ठ ३ हजार ७५० मत ल्याएर चौथो भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर