गोकर्णलाई बधाई दिँदै झाँक्रीले भनिन् : पराजयलाई सहज रूपमा लिएको छु – Nepal Press

गोकर्णलाई बधाई दिँदै झाँक्रीले भनिन् : पराजयलाई सहज रूपमा लिएको छु

काठमाडौं । गुल्मी २ बाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले यो निर्वाचन आफ्नो लागि अत्यन्त रोमाञ्चक भएको बताएकी छन् ।

नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग पराजित भएपछि उनले गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा सधैं साथ रहने बताएकी छन् ।

उनले बिष्टलाई बधाई दिँदै लेखेकी छन्, ‘यो निर्वाचनमा विजयी मेरो आदरणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु।’

उनले निर्वाचनबाट समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर बुझ्ने मौका पाएको बताएकी छन् ।

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ’, उनले लेखेकी छन्, ‘यो साढे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि, त्यो चाहिं लोकतन्त्रको लागि गम्भीर छ ।’

उनले आफ्नो पराजयलाई मैले अत्यन्तै सहज रूपमा लिएको बताएकी छन् । ‘मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनुभएको छ, यसप्रति म सधैं ऋणी हुनेछु । यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू ।’

उनले गठबन्धन दलका नेतृत्वसहित आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर