धनुषा: एमालेका महासेठ दम्पती अगाडि, अरगरिया झिनो मतले पछि परे, मातृका पनि संकटमा – Nepal Press

धनुषा: एमालेका महासेठ दम्पती अगाडि, अरगरिया झिनो मतले पछि परे, मातृका पनि संकटमा

जनकपुरधाम । धनुषाको चारै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । यहाँ २ क्षेत्रमा एमाले, काँग्रेस १ र जसपा १ क्षेत्रमा अगाडी छन् ।

विहान ९ बजेसम्मको मतपरिणाम हेर्दा नेकपा एमालेका रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो सुरुदेखि नै अग्रता कायम राखेका छन् । रघुवीर धनुषा ४ र जुली धनुषा ३ बाट चुनाव लडेकी हुन् ।

रघुवीरले ३ हजार ४५ मत पाउँदा काँग्रेसका महेन्द्र यादव २ हजार ८८९ मत ल्याएका छन् । जसपाका महाजन यादव धेरै पछाडी छन् । उनले मात्र ३९२ मत पाएका हुन् । यो क्षेत्रमा जसपा र एमाले अलग अलग चुनाव लडेको छ भने काँग्रेसलाई माओवादी र एकिकृत समाजवादीको साथ छ ।

धनुषा ३ मा एमालेकी जुली महतो झण्डै २ हजार मतले अगाडी छन् । उनी ११ हजार ५६५ मत पाउँदा लोसपाका अनिल झा ९ हजार ३४९ मत ल्याएका छन् । जुलीलाई जसपाको समर्थन छ भने अनिललाई माओवादी, काँग्रेस र एकिकृत समाजवादी सघाएको छ ।

धनुषा २ मा सुरुदेखि अग्रता लिएका एमालेका उमाशंकर अरगरियालाई काँग्रेसका रामकृष्ण यादव झिनो मतले पछारेका छन् । रामकृष्ण ६ हजार ६८२ मत पाउँदा अरगरिया ६ हजार ६७० मत ल्याएका छन् ।

यो क्षेत्रमा गठबन्धन छैन । यहाँ मात्र माओवादीको उम्मेदवार छैन । माओवादीले काँग्रेसका रामकृष्णलाई सहयोग गरेको छ । नेकपा एकिकृत समाजवादीका रामचन्द्र झा ५ हजार ६९५ मतका साथ तेस्रो र जसपाका आनन्द यादव ‘गंगाराम’ ४ हजार ८७४ मतका साथ चौथो स्थानमा छन् ।

धनुषा १ मा भने सुरुदेखि नै जसपाका दीपक कार्की अग्रता कायम राखेका छन् । उनले ५ हजार ४२० मत पाउँदा माओवादीका मातृका प्रसाद यादव मात्र ३ हजार १७३ मत ल्याएका छन् । कार्कीलाई जसपाको सहयोग छ भने मातृका सत्ता गठबन्धनका उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर