उपत्यकामा एमालेको दोस्रो विजय, आठौं प्रतिस्पर्धामा कृष्णगोपाललाई चौथो जित – Nepal Press

उपत्यकामा एमालेको दोस्रो विजय, आठौं प्रतिस्पर्धामा कृष्णगोपाललाई चौथो जित

काठमाडौं । नेकपा एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतले पछि पार्दै एमाले नेता श्रेष्ठ विजयी भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा खसेको ४३०६७ मत मध्ये एमालेका कृष्ण गोपाल श्रेष्ठले ११९५६ मत ल्याउँदा उनको प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकवहादुर पोखरेल १०९६१ मतमा रोकिए । गठबन्धनबाट उम्मेदवार बनेकी कल्पना धमलाले ६४०२ मत ल्याइन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा ७२ हजार १७३ मतदाता रहेकोमा ४३ हजार ६७ मत मात्रै झरेको थियो ।

काठमाडौंका प्रायः सबै क्षेत्रमा एमाले पछि परेका बेला श्रेष्ठले विजय एमालेका लागि राहत बनेको छ । नेपालमा २०४८पछि भएका ७ चुनावमा आठपटक उम्मेदवार बन्न पाउने भाग्यमानी नेता श्रेष्ठ । उनले योसहित आठौं प्रतिस्पर्धामा चारपटक पराजय भोगेका थिए भने चारपटक जित निकालेर बराबरी गरेका छन् ।

२०४८ सालमा काठमाडौंको तत्कालीन क्षेत्र नम्बर १ र ५ बाट महासचिव मदन भण्डारीले जितेपछि ५ नम्बर छाडेका थिए । मदनले छाडेको क्षेत्रमा भएको उपचुनाव जितेर संसदीय राजनीतिमा इन्ट्री गरेका श्रेष्ठ त्यसलगत्तै २०५१ मा भएको मध्यावधि निर्वाचनमा पनि विजयी भए ।

२०५६,२०६४,२०७० र २०७० कै उपचुनावमा पराजय भोगेका श्रेष्ठ २०७४ मा विजयी भएका थिए । यसपटक उनको लागि जित निकाल्नु निकै चुनौती थियो । तर, गठबन्धन उम्मेदवार कल्पना धमला निकै पछि परेकाले श्रेष्ठको प्रतिस्पर्धा घण्टीसँग भयो । मतगणनाका शुरुदेखि नै अग्रता लिएका श्रेष्ठ एमालेका स्थायी कमिटी सदस्य हुन् । उनी यसअघि शिक्षामन्त्री भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर