सीडीओ र डीएसपीकै मिलेमतोमा दोलखामा बुथ कब्जा भएको एमालेको आरोप – Nepal Press

सीडीओ र डीएसपीकै मिलेमतोमा दोलखामा बुथ कब्जा भएको एमालेको आरोप

दोलखा । नेकपा एमाले दोलखाले प्रहरी र प्रशासनको मिलेमतोमा सत्ता गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेको छ ।

जिल्ला अध्यक्ष तथा प्रदेश सभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र डिसपी गंगा पौडेलको प्रत्यक्ष मिलेमतो र योजनामा जिल्लाका विभिन्न बुथमा गठबन्धनले कब्जा गरेको आरोप लगाएका हुन् ।

श्रेष्ठले मतदान केन्द्र रण मैदान बन्दा समेत प्रहरी, प्रशासन मौन बसेको तथा प्रजिअ खतिवडा र डिएसपी पौडेल आफै गठबन्धनको बुथ कब्जामा सहयोगी बनेको आरोप लगाएका छन् ।

एमालेले अघिल्ला निर्वाचनदेखि नै संवेदनशील र हिंसाग्रस्त बुथहरूमा गठबन्धनको तर्फबाट सिफारिस गरिएका मतदान अधिकृत खटाउने काममा सेटिङ भएको र सेटिङको आधारमा डिएसपी पौडेलले ती बुथहरूमा प्रहरी इन्चार्ज खटाएको आरोप लगाएको छ ।

भुषाफेदा, कालिञ्चोक, भेड्पुको जुकेपानी, वैतेश्वर गाउँपालिकाको १, ३ र ६ मा बुथ कब्जा हुँदा प्रशासन मौन बसेको तथा प्रमुख जिल्ला अधिकारी खतिवडा र डिएसपी पौडेलले आफ्नो पदीय अधिकारको समेत दुरुपयोग गरेको एमालेले बताएको छ ।

बुथ कव्जा भएको मतपत्र भुईँमा छरिएको, एकलौटी भोट हालिरहेको दृश्य र तस्बिरहरूलाई एमालेले सुरक्षा प्रमुखहरूलाई पठाउँदा पनि बेवास्ता गरेको र माथिल्लो निकायमा झुठो विवरण सम्प्रेषण गरेर प्रजिअ र डिएसपीले पदीय अधिकार दुरुपयोग गरेको एमालेको आरोप छ ।

एमालेले दोलखाका मुख्य निर्वाचन अधिकृतप्रति पनि असन्तुष्टि जनाएको छ । एमालेले बुथ कब्जा भएका मतदान केन्द्रमा पुनः मतदान गराउन माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर