वैकल्पिक नेतृत्वको खोजीमा मतदाता, भन्छन्- पुरानाले जनतालाई सुख दिएनन् (भिडि‌ओसहित) – Nepal Press

वैकल्पिक नेतृत्वको खोजीमा मतदाता, भन्छन्- पुरानाले जनतालाई सुख दिएनन् (भिडि‌ओसहित)

काठमाडौं । बसन्तपुरकी मीरा श्रेष्ठ उमेरले ७० लागिन् । खुट्टाहरु राम्ररी हिँड्न सक्तैनन । तर, पनि नेपालको भविष्य सम्झेर उनी बसन्तपुर नवआदर्श माध्यमिक विद्यालयमा मतदान गर्न पुगिन् । अहिलेसम्मका नेतृत्वले जनतालाई खुशी बनाउन नसकेकोमा उनी असन्तुष्ट छिन् ।

उनी भन्छिन्, ‘जो आए पनि केही गर्दैनन्, पहिलाकाले नि गरेननर । अबकाले पनि के गर्लान् र ?’

सोह्रखुट्टेकी प्रज्ञा शाक्यले योसहित तीन पटक मतदान गरिन् । तर, अब पुरानै नेतृत्व र पाराले देश विकास अझै वर्षौं पर धकेलिने र यो अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिइन् । प्रज्ञा भन्छिन्, ‘अहिले देशमा परिवर्तन चाहिएको छ । नेपालको राजनीतिक प्रणालीबाट युवाहरु विरक्तिएका छन् । नयाँ मान्छे आओस् र नयाँ ढगंले काम गरोस् भन्ने चाहना छ । शिक्षित युवाहरु अबको नेतृत्वमा आउनुपर्छ ।’

हनुमानढोकाकी उर्मिला ताम्राकार पनि उमेरले ५० पार गरिसकिन् । उनी पनि पुरानो ढर्राबाट चलेको राजनीतिक प्रणाली अन्त्य हुनुपर्नेमा जोड दिन्छिन् । उर्मिला भन्छिन्, ‘नयाँ र युवा जोशले भरिएकाहरु अबको राजनीतिमा आउनुपर्छ । जनतालाई माया गर्ने र महँगीको मारबाट जोगाउने हुनुपर्छ । सरकारलाई कर बुझाउने काममात्र भएको छ । जति मेहनत गरे पनि खानलाई मात्र ठिक्क छ, बचत छैन ।’

काठमाडौं महानगरपालिका- २० का राजेश मानन्धर यसपटक मतदाताहरु जागरुक भएको र कसलाई भोट हाल्नुपर्छ भन्ने सचेतना रहेको बताउँछन् । युवाहरुको राम्रो शैलीले शीर्ष र पुराना नेतालाई पछार्ने उनी आँकलन गर्छन् । राजेश भन्छन्, ‘देशमा केही न केही होला जस्तो छ । सिद्धान्त राम्रो र देशलाई हाक्न सक्ने व्यक्ति आउनुपर्छ । अब जनता मान्छे छान्न जान्ने भइसकेका छन् । युवामा बढी जोश र जाँगर देखिएको छ ।’

लीलाराज शाही पनि काठमाडौं २० कै मतदाता हुन् । भोट हालिसकेपछि उनले भने, ‘देश बनाउने, घुस नखाने मान्छे चाहिन्छ । त्यस्तै मान्छेलाई भोट हालेर आएँ ।’

यी त प्रतिनिधि मतदातामात्र हुन् । नेपाल प्रेसले गरेको स्थलगत रिपोर्टिङका क्रममा अधिकांश मतदाता पुरानो राजनीति शैली र नेतृत्वप्रति विरक्तिएको देखिन्छ । अबको युग परिवर्तनको हुनुपर्ने र त्यो परिवर्तन शिक्षित र जागरुक युवाले मात्र गर्न सक्ने अधिकांशको बुझाइ छ ।

सामाजिक सञ्जालमा भएका पोष्ट र तिनमा आउने कमेन्टले पनि सर्वसाधारण परिवर्तनको पक्षमा रहेको स्पष्टै छ । अधिकांश युवा विकल्पको खोजीमा रहेको बुझ्न गाह्रो छैन । उनीहरु हिजोकै परम्परागत राजनीतिक परम्परा र प्रणालीमा रहन चाहिरहेका छैनन् ।

अहिले देशभर शान्तिपूर्ण मतदान भइरहेको छ । प्रतिनिधिसभातर्फ २ हजार ४१२ जना दल तथा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । यसपटकको चुनावमा १० हजार ८९२ मतदान स्थल कायम गरिएको छ । देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । जसको ५० दशमलव ८१ प्रतिशत पुरुष रहेका छन् ।

भिडिओः नवीनमुनि स्थापित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर