ताजा मतपरिणाम घण्टैपिच्छे निर्वाचन आयोगले सार्वजनिक गर्ने – Nepal Press

ताजा मतपरिणाम घण्टैपिच्छे निर्वाचन आयोगले सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना र मत परिणाम प्रत्येक घण्टामा निर्वाचन आयोगको सूचना प्रणालीमा राखिने भएको छ ।

हरेक मतगणना स्थलबाट प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले यकिन गरी सम्बन्धित मुख्य र निर्वाचन अधिकृतको कार्यालयले आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने आयोगले जनाएको हो ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आधिकारिक मत परिणामलाई सञ्चारमाध्यमले आफ्नो वेब पेज वा पोर्टलमा आबद्ध गर्न चाहेमा त्यसका लागि आयोगको परिणाम पोर्टलको लिङ्क (https;//result.election.gov.np) लाई झदभम गरी प्रकाशन गर्न सक्नेछन् । मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न र नगराउन पनि आयोगले सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

मत परिणाम सम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधकिृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार प्रत्येक मतगणना स्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र उक्त कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ ।

मतगणना कार्यको सुरुआतमा एक पटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणना स्थलको दृश्य र तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना स्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकिङ वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर