रोनाल्डो भन्छन्- हामी उपाधि दावेदार हैनौँ, कहिल्यै थिएनौँ – Nepal Press

रोनाल्डो भन्छन्- हामी उपाधि दावेदार हैनौँ, कहिल्यै थिएनौँ

लन्डन । पाँचपटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोले आसन्न कतार विश्वकपमा पोर्चुगल उपाधि दावेदार नभएको बताएका छन् ।

इतिहासमा पनि कहिल्यै दावेदारका रुपमा सहभागी नभएको उनको भनाई छ । यद्यपी आफूले एकपटक विश्वकप जित्ने सपना देखेको चाहीँ उनले बताएका छन् ।

‘म आसन्न विश्वकपलाई लिएर आशावादी छु । हामीसँग गज्जबका प्रशिक्षक छन् । राम्रो पुस्ताका फुटबल खेलाडी छन्’, पायर्स मोर्गनसँगको अन्तर्वार्तामा रोनाल्डोले भनेका छन्, ‘तर हामी उपाधि दावेदार होइनौँ । कहिल्यै थिएनौँ । तर फुटबलमा हरेक कुरा सम्भव पनि छ । मैले एकपटक सपना पनि देखेको थिएँ तर यो निकै निकै गाह्रो कुरा थियो । यसपटक हामी प्रतिस्पर्धा गर्दैछौँ, हामीलाई पराजित गर्न गाह्रो हुनेछ ।’

त्यसपछि मोर्गनले गरेको अबको विश्वकपको प्रबल दावेदार को हो भन्ने प्रश्नमा रोनाल्डोले सुरुमा फ्रान्स अनि त्यसपछि क्रमश, स्पेन, अर्जेन्टिना र जर्मनीको नाम लिएका थिए । मोर्गनले ब्राजिल पनि हो भनेपछि रोनाल्डोले उक्त नाम पनि थपेका थिए ।

रोनाल्डोलाई त्यसपछि मोर्गनले मेस्सीको प्रसंग जोडेर कुराकानी गरेका थिए । ‘अर्जेन्टिनी र पोर्चुगल दुवै फाइनल पुग्ने, तपाईं र मेस्सीले खेलमा दुई दुई गोल गरेको अवस्थामा तपाईंले अन्तिम समयमा तेस्रो गोल गरेर पोर्चुगलले विश्वकप जित्ने ? यस्तो सपना देख्नु भएको छ’, भन्ने मोर्गनको प्रश्नमा रोनाल्डोले त्यो निकै राम्रो सपना भएको तर फाइनलमा जसले गोल गरेर पोर्चुगलले उपाधि जिते पनि आफू निकै खुशी हुने बताए । ‘फाइनलमा गोलकिपरले गोल गरेर जितेपनि म विश्वकै सबैभन्दा खुशी व्यक्ति हुनेछु । तपाईंले भनेजस्तो भयो भने त अझ त्यो निकै राम्रो सपना हुनेछ’, रोनाल्डोले भने । उनले खेलाडीका रुपमा मेस्सी ‘अदभूत’ रहेको प्रतिक्रिया दिएका छन् ।

‘उनीसँग मेरो निकै राम्रो सम्बन्ध छ। हामी साथी त हैनौँ तर मलाई उ मेरो टिमको सदस्यजस्तो लाग्छ जसरी उनी मेरो सम्मान गर्छन्’, रोनाल्डोले भनेका छन्, ’हामीले डिनरसमेत सँगै गरेका छैनौँ तर मेरो चाहना छ । त्यो एक दिन पूरा हुनेछ । म चाहन्नँ की पेले र म्याराडोनाबीच भएकोजस्तो हामीबीच होस् ।’ रोनाल्डोले मेस्सीबाहेक जिदान पनि आफूलाई उत्कृष्ट लाग्ने बताएका छन् । उनले भविष्यमा मेस्सीसँग एउटै टिमबाट खेल्न सक्ने सम्भावना पनि अस्विकार गरेका छैनन् ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालीन सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोकै कप्तानीमा पोर्चुगलले विश्वकप खेल्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर