सन्दीपलाई जस्तै आरोप लागेका श्रीलंकन क्रिकेटर धरौटीमा छुटे – Nepal Press

सन्दीपलाई जस्तै आरोप लागेका श्रीलंकन क्रिकेटर धरौटीमा छुटे

काठमाडौं । अष्ट्रेलियामा बलात्कारको मुद्दा खेपिरहेका श्रीलंकन क्रिकेटर दनुस्का गुनथिलका धरौटीमा रिहा भएका छन् । सिड्नीको डाउनिङ सेन्टर लोकल कोर्टले उनलाई अष्ट्रेलियन डलर १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

३१ वर्षीय क्रिकेटर गत नोभेम्बर ६ मा सिड्नी हायत रिजेन्सी होटलबाट पक्राउ परेका थिए, जहाँ उनी विश्वकप खेल्न गएको श्रीलंकन टिमसँगै बसिरहेका थिए । एक २९ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा दायर भएको थियो । उनले ती महिलाको मञ्जुरीबिना चार पटक शारीरिक सम्बन्ध राखेको आरोप छ ।

पार्कली जेलमा रहेका गुनथिलकाले भर्चुअल माध्यमबाट सिडनी डाउनिङ सेन्टर लोकल कोर्टमा भएको सुनवाइमा उपस्थिति जनाएपछि म्याजिस्ट्रेट जेनेट वाहलक्वीस्टले धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।

प्रहरीतर्फका वकिल केरी एन क्इाककिननले गुनथिलकालाई विमान चढ्न दिनु जोखिमपूर्ण हुने तथा उनलाई छोड्दा जाहेरीकर्ताको असुरक्षा हुन सक्ने भन्दै धरौटी स्वीकार गर्न नहुने तर्क गरेका थिए ।

अदालतमा पेश भएको प्रहरीको अभियोग पत्रमा गुनथिलकाले बल प्रयोग गरेर जाहेरीकर्तासँग जबरजस्ती यौन सम्बन्ध राखेको उल्लेख छ ।

अभियोग पत्रमा भनिएको छ, ‘जाहेरीकर्ताले आरोपीको हातमा समातेर उसलाई हटाउने कोशि गरिन्, तर आरोपीले उनको घाँटीमै अँठ्याए । जाहेरीकर्तालाई मृत्युको डर भयो र आरोपीबाट छुटकारा पाउन सकिनन् ।’

प्रहरीलाई दिएको बयानमा गुणथिलकाले जाहेरीकर्तासँग यौनसम्बन्ध रहेको स्वीकार गरेका छन्, तर जबरजस्ती नगरेको उनको दाबी छ । प्रहरीले अहिलेसम्म जाहेरीकर्ताको पहिचान सार्वजनिक गरेको छैन । तर, सामाजिक सञ्जालमा श्रीलंकनहरुले ती युवतीलाई ह्यारेसमेन्ट गरिरहेको प्रोसिक्यूटर म्याकिननले बताए ।

ह्यारेसमेन्टकै कारण ती युवतीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट बन्द गर्न बाध्य भएको उनको भनाइ छ ।

अदालतले गुणथिलकालाई धरौटीमा रिहा गर्नुका साथ अन्य विभिन्न सर्तहरू पनि राखेको छ । उनले अब ‘टिन्डर’ लगायतका कुनैपनि डेटिङ एपहरुको प्रयोग गर्न पाउने छैनन् । साथै, अहिले आफ्नो सामाजिक सञ्जाल अकाउन्टहरू पनि उनले खोल्न सक्ने छैनन् ।

गुणथिलकाको मुद्दा नेपालका क्रिकेटर सन्दीप लामिछानेसँग मिल्दोजुल्दो छ । सन्दीप पनि एक किशोरीमाथि जबरजस्ती यौनसम्बन्ध राखेको आरोप खेपिरहेका छन् । तर, उनी भने धरौटीमा रिहा हुन सकेनन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर