गच्छदारले भने- मलाई ओली सरकारले फँसायो, न्याय दिनु्स् – Nepal Press

गच्छदारले भने- मलाई ओली सरकारले फँसायो, न्याय दिनु्स्

काठमाडौं । नेपाली कांग्रेससहितको गठबन्धनबाट सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले आफूलाई ललिता निवास जग्गा प्रकरणमा फँसाइएको बताएका छन् ।

इटहरीमा बिहीबार आयोजित चुनावी र्‍यालीपछिको सम्बोधनका क्रममा गच्छदारले आफूलाई फँसाइएको र जनताको मतले न्याय दिने बताएका हुन् ।

‘मेरो राजनीतिक इतिहासलाई मेटाउने षड्यन्त्रले ममाथि ओली नेतृत्वको एमाले सरकारले प्रतिशोध साँध्यो,’ गच्छदारले भने, ‘जहिल्यै चुनाव जित्ने र कहिल्यै नहार्ने भएकाले आगामी समयमा हुने निर्वाचनमा मैले फेरि पनि जित्छु भनेर फँसाइयो ।’ चुनाव लड्न बञ्चित बनाउनका निम्ति आफूलाई ओली नेतृत्वको एमाले सरकारले फँसाइएको उनको दाबी छ ।

‘मेरो त्यहाँ कुनै पनि संलग्नता छैन, मलाई यसपटक पनि जनताले चुनाव जिताएर पठाउनुहुनेछ,’ उनले भने, ‘मलाई विश्वास छ, मलाई ललिता निवास जग्गा प्रकरणमा अदालतले सफाई दिन्छ, इन्साफ दिन्छ ।’

उनले आफू जनतासमक्ष न्याय माग्न आएको बताए । उनले फरक प्रसङगमा अहिलेको गठबन्धन राजनीतिक स्थायीत्वका निम्ति बनेको बताए । देशमा राजनीतिक स्थिरता आउन नसकेकाले गठबन्धन कायम रहने तर्क गरे ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा सुनसरी ३ मा सत्ता गठबन्धनको तर्फबाट गच्छदार चुनावी मैदानमा छन् ।

नेकपा एमालेको तर्फबाट भगवती चौधरी प्रतिस्पर्धामा रहेकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर