ओलीलाई कंस र रावणसँग तुलना गर्दै नेपालको आक्रोश- यस्तालाई जन्म दिने यो धर्ती कस्तो ? (भिडिओ) – Nepal Press

ओलीलाई कंस र रावणसँग तुलना गर्दै नेपालको आक्रोश- यस्तालाई जन्म दिने यो धर्ती कस्तो ? (भिडिओ)

काठमाडौं । चुनावी अभियानको सुरुदेखि नै केपी ओलीप्रति व्यक्तिगत आक्रोश व्यक्त गर्दै आएका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले अन्तिम चुनावी सभामा अझ बढी घृणा व्यक्त गरेका छन् ।

विगतमा आफू निर्वाचित भएको काठमाडौं २ को अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई जन्म दिएको धर्तीप्रति समेत आक्रोश व्यक्त गरे । उनले अ‍ोलीलाई कंस र रावणसँग तुलना गर्दै बिर्सेर पनि यस्ता व्यक्तिलाई भोट नदिन आग्रह गरे ।

नेपालले भने- यस्ता व्यक्तिलाई जन्म दिने कस्तो होला यो धर्ती ? हुन त रामसँगै रावण पनि जन्मिए, कृष्णले कंसको सामना गर्नुपरेको थियो । त्यही कंस र रावण प्रवृतिको जन्म भयो, के गर्ने । म कसैको विरोध त गर्दिन तर यस्ता व्यक्ति पनि भेल्नुपर्यो ।

विगतमा काठमाडौं २ को विकासमा आफूले अघि सारेका योजनाहरुलाई माधव नेपालले जस लिन्छ भनेर ओलीलेले अवरोध गरेको आरोपसमेत उनले लगाए । नेपालले देशमा शान्ति स्थापना गर्ने र गणतन्त्र ल्याउने कुरामा समेत ओलीको विरोध रहेको बताए ।

भाषणको सुरुदेखि अन्त्यसम्म ओलीप्रति चरम घृणा व्यक्त गरेका नेपालले ओलीका कुनै पनि कुरामा विश्वास नगर्न मतदातलाई आग्रह गरे । उनले सुर्यमा ग्रहण लागिसकेकाले काठमाडौं २ मा गठबन्धनकी उम्मेदवार ओनसरी घर्तिलाई जिताउन आग्रह गरे । उनले आफ्नै आग्रहमा ओनसरीलाई काठमाडौं २ मा उम्मेदवार बनाइएको बताए ।

उनले मतदानको दिन नजिकिँदै गर्दा गठबन्धनप्रति जनता उत्साहित बनेको दाबी गरेका छन् । गठबन्धनलाई परमादेशीको सरकार भनेर विज्ञापन गरेको भन्दै नेपालले बहुमत सदस्यले कागजमा हस्ताक्षर गरेर ओलीलाई अल्पमतमा पारेर देउवालाई प्रधानमन्त्री बनाएको बताए ।

‘संसदमा बहुमत सदस्यले समर्थन नगरेको भए यसलाई सर्वोच्चले स्वीकार गर्ने अवस्था थिएन । राष्ट्रपतिबाट संसदको हस्ताक्षरलाई कदर नगरेर संविधानको मर्यादामा आँच पुर्‍याइयो, संसदहरूको अवमुल्यन भयो । परमादेशी केपी ओली एण्ड कम्पनीले पराजयको पीडाबाट आएको अभिव्यक्ति मात्र हो’, नेपालले भने ।

७४ को चुनावमा त्यतिखेर एमाले-माओवादी गठबन्धनलाई दुईतिहाइ नजिक पुर्‍याएको भन्दै नेपालले ओलीले त्यसलाई नस्वीकारको टिप्पणी गरे ।

नेपालले भने, ‘सत्य कुरालाई स्वीकार गर्न सक्नुपर्छ । ओलीले यसलाई ढाकछोप र अवमूल्यन गरे । ओली र एमालेले जनताको मतलाई अपमान गरेको हुनाले यो पटक सजाय दिनैपर्छ । ५ वर्षको सरकार चलाउन नसक्ने पार्टीका मान्छे समेट्न नसक्नेले अबका दिनमा गल्ती सुधार्लान भन्ने आशा गर्न सकिन्न । हावादारी कुरा गर्ने घरघरमा ग्यास ल्याउने, रेलको टिकट काट भनेर झुक्याए ।’

राजावादी र देश विखण्डनकारी तत्वसँग गठबन्धन गर्नेलाई सजाय दिनुपर्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया

2 thoughts on “ओलीलाई कंस र रावणसँग तुलना गर्दै नेपालको आक्रोश- यस्तालाई जन्म दिने यो धर्ती कस्तो ? (भिडिओ)

  1. प्रचण्ड माधवकुमार र झलनाथ र बाबुराम नारायण काजी मोहन विक्रम सिंह र चित्रबहादुर जस्ता कम्युनिस्टहरू का वर्गीय दुष्मण लाचारहरू कांग्रेसका रैती हौ किन नेकपा एमालेलाई गाली गर्छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर