प्रचण्ड हेलिकप्टर चढेर मन्त्रीको भ्रम छर्दै झुक्याउँदै हिँडेका छन् : शेरधन राई (भिडिओ) – Nepal Press

प्रचण्ड हेलिकप्टर चढेर मन्त्रीको भ्रम छर्दै झुक्याउँदै हिँडेका छन् : शेरधन राई (भिडिओ)

उनको प्रश्न- 'प्रचण्डले आफ्नै हातमा हुँदा मन्त्री बनाउन नसकेका सुदनलाई देउवाले बनाउलान् ?'

भोजपुर । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले माओवादी अध्यक्ष प्रचण्डले जताततै मन्त्री बाँडेर ढाँटिरहेको टिप्पणी गरेका छन् ।

बुधबार भोजपुरको चुनावी सभामा प्रचण्डले सुदन किरातीलाई अब पहिलो चोटि नै रोजेको मन्त्रालय दिएर पहिला मन्त्री बनाउन नपाएको ऋण चुक्ता गर्ने आश्वासन दिएपछि राईले यस्तो टिप्पणी गरेका हुन् । शेरधन गठबन्धनका सुदनविरुद्ध मैदानमा छन् । दुईजनाबीच यो तेस्रो प्रतिस्पर्धा हो । ६४ मा सुदनले शेरधन र ७० मा शेरधनले सुदनलाई चुनाव हराएका थिए ।

बुधबारमात्रै प्रदेश तीन जिल्लामा ६ जना मन्त्री बाँडेको भन्दै शेरधनले भने, ‘मान्छे छक्क परिरहेका छन् । १६५ जनामा एकतिहाइ पनि उम्मेदवार उठाउन नसकेको माओवादीले एउटै प्रदेशमा ६ जनाको दरले ७ वटामा ४२ जना मन्त्री हुन्छन् । संविधानत: मन्त्री २५ जनामात्र बन्न पाउँछन् । यही हाम्रो प्रदेशमा तीनवटा जिल्लामा मन्त्री बाँडेर हिँडे । माओवादी सरकार बनाउने हैसियतमा छ ? प्रचण्डले आफ्नै हातमा हुँदा त बनाएनन् सुदन किरातीलाई । ढाँट कुरा गरेर गएछन् । आफू भएको बेला त बनाउन नसक्नेले देउवाले सुदनलाई मन्त्री बनाउँछन् ? जनतालाई झुक्याउन, ढाँट्नका निम्ति हेलिकप्टर चरेर भ्रम छर्दै हिँडिरहेका छन् । माओवादीलाई भोट हाल्नुपर्‍ने जिताउनुपर्ने कुनै कारण छैन । नेपाली कांग्रेसको हात कसरी हँसिया हतौडामा जान्छ ।’

साना मसिना पार्टीलाई हुर्काएर, च्यापेर देशलाई नोक्सान भएको भन्दै राईले अब आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।

‘माओवादी एकपटक जबरजस्त बाहिर देखियो । जनताले जबरजस्ती भोट हाल्नुपर्‍यो त्यसपछि ओ‌रालो लाग्न थाल्यो । अब कांग्रेस र एमालेबाहेक कुनै पार्टीको काम छैन । चुनावसम्म गठबन्धन कायम गरेर जानुपर्ने कांग्रेसलाई बाध्यता छ । चुनावपछि एमालेले सरकारमा जान्छ कांग्रेस प्रतिपक्ष बस्छ कांग्रेसले बनाए एमाले प्रतिपक्ष बस्छ । ५ वर्षपछि अरु पार्टीलाई जिरो बनाइदिनुपर्छ । त्यसपछि प्रतिस्पर्धा र सहकार्य कांग्रेस र एमालेबीच मात्र हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर