दाङ ३ का प्रतिनिधिसभा उम्मेदवार कोमल वलीलाई पाँच प्रश्न – Nepal Press
नेपाल टक

दाङ ३ का प्रतिनिधिसभा उम्मेदवार कोमल वलीलाई पाँच प्रश्न

जनता एमालेको पक्षमा हुनु नै मेरो जीतको आधार हो

– निर्वाचनको प्रचारप्रसार कसरी अघि बढेको छ ?

हामी मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट सूर्य चिह्न लिएर चुनावी मैदानमा रहेका छौं । हामीले निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचारप्रसारलाई चरणबद्ध रुपमा अघि बढाएका छौं । पहिलो चरणमा हामीले घरदैलो अभियान चलाएका थियौं । त्यसबाहेक हामीले चुनावीसभा, रात्रीकालीन भेटघाटलाई प्राथमिकतामा राखेका छौं । सबै कार्यकर्ताहरु निरन्तर रुपमा हामीलाई साथ दिनुभएको छ ।

हामीले पहिलो चरणमा गरिरहेको घरदैलो अभियानलाई सबैले मन पराउनुभएको छ । सबै मतदाताको घरमा पुगेर सूर्यमा भोट मागिरहेका छौं । जनता एमालेप्रति आकर्षित भएका छन् । हाम्रो प्रयास सम्पूर्ण मतदातालाई उहाँहरुको घरमै भेट्ने प्रयास हो । मतदाताहरु अहिले धान ढल्याउने काममै ब्यस्त हुनुभएको छ । घरमै भेट हुन नसके पनि हामीले उहाँहरुलाई खेतबारीमा पुगेर भेट्ने गरीरहेका छौं । निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर निर्वाचनको प्रचार गरिरहेका छौं ।

यस्तै हामीले घरदैलोबाहेक उद्योगी, व्यवसायी, समाजसेवी, साहित्यकार, कलाकार तथा पत्रकार एवं समाजका बुद्धिजीवीहरुलाई पनि समय मिलाएर भेट गरिरहेका छौं । हामीले जति जना मतदातालाई भेटेका छौं, सबै उत्साहित हुनुभएको छ । यसले हामीलाई चुनावका क्रममा उत्साह थपेको छ ।

– तपाईंले प्रचारका लागि सामाजिक सञ्जाल बढी प्रयोग गरे जस्तो देखिन्छ नि ?

प्रविधिको युगमा सामाजिक सञ्जालको सदुपयोग गरिएको छ । हाम्रो घोषणापत्र पनि डिजिटल प्रविधिमार्फत् सार्वजनिक भएको तपाईंलाई थाहा छ । मैले पनि चुनाव प्रचार तथा भोट माग्न सामाजिक सञ्जालको प्रयोग गरेको छु । मेरो सचिवालयले सामाजिक सञ्जाल प्रयोग गरिरहेको छ । विशेषगरी फेसबुक र टिकटकको प्रयोग हामीले गरेका छौं । मतदाताको घरसम्म पुग्न नसके पनि सामाजिक सञ्जालमार्फत् पुगेका छौं । यो गज्जबको तरिका पनि हो ।

– तपाईंलाई मतदाताले किन जिताउने ?

मैले राजनीतिमा जहिलेदेखि चासो र चिन्ता राख्न थाले त्यही समयदेखि यही क्षेत्रलाई पहिलो रोजाइमा राखेको छु । विकास निर्माणका योजना अघि सार्दा मैले यही क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेकी छु । मलाई नेकपा एमालेले राष्ट्रियसभामा लगेपछि जनताका सरोकार राख्ने विषयलाई जोडदार रुपमा बोलेकी छु । यस क्षेत्रका पुल, बाटो, विमानस्थल, खानेपानी, सिंचाइ, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको सबैलाई थाहा छ ।

यस्तै विकास निर्माण गर्न पनि मलाई यस क्षेत्रका जनताले जिताउनुपर्ने भएको छ । हिजो कोभिड महामारीको समयमा स्वास्थ्य मन्त्रालयमार्फत् धेरै काम गरेको छु । राजनीतिमा क्रियाशील हुनुअघि मैले पत्रकारिता र कलाकारितामार्फत समाज सेवा गरेको सबैलाई जगजाहेर छ । यस क्षेत्रका जनताको जीवनस्तर बदल्न अनि यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्न मलाई जिताउनुपर्छ ।

यस क्षेत्रका जनताको भावना, चाहनाअनुसार मैले काम गर्नेछु । सबैले मलाई उत्साह थप्नुभएको छ । मलाई यस क्षेत्रका जनताले जिताएपछि पछुताउनुपर्ने काम केही पनि गर्नेछैन । दाङमा त्यो पनि यही क्षेत्रमा जन्मे हुर्केको मान्छे दंगाली चेली भएको नाताले पनि मलाई यस क्षेत्रका जनताले जिताउनुपर्नेछ । छोरीहरुले केही गर्न सक्दैनन् भन्नेहरुका लागि पनि यस क्षेत्रका जनताले मलाई जिताउनुपर्नेछ ।

– तपाईंले चुनाव जित्ने आधार के के हुन् ?

मलाई र मेरो पार्टी नेकपा एमालेलाई जनताको विश्वास छ । नेकपा एमाले र एमालेले अघि सारेका सम्पूर्ण उम्मेदवारलाई दैनिक जनताको विश्वास बढ्दै गएको छ । यसको मतलब हिजो एमालेप्रति जनताको विश्वास थिएन भन्न खोजेको होइन । आम जनताले विगतमा नेकपा एमालेको सरकार हुँदा त्यो सरकारले गरेको कामलाई मूल्यांकन गरेकै छन् ।

एमालेको सरकारले अघि सारेका योजना २०७८ साल असार २९ गते भएको परमादेशको सरकार गठनपछि अलपत्र रहेका छन् । यो विषय सबैलाई थाहै छ । वर्तमान सरकारले राम्रो काम गरेकै छैन । हामी जनताको सल्लाह सुझावका आधारमा सरकारले जनताका कुरालाई ध्यानमा राखेर काम गर्छौं भनेका छौं ।

– तपाईंको प्रतिस्पर्धा गठबन्धनसँग हो । कति असहज छ ?

मलाई थाहा छ । गठबन्धनका विरुद्ध हाम्रो प्रतिस्पर्धा हो । हामीले भनेकै छौं । हामी जतिसुकै दलहरु मिलेर आए पनि हाम्रो पार्टी एक्लै चुनावी मैदानमा जानलाई तयार छ । हाम्रो पार्टी र हाम्रोविरुद्ध पाँच दलको गठबन्धन भएको हो । महागठबन्धन भए पनि हाम्रो पक्षमा जनता छन् । नेताहरु मिलेर केही हुँदैन, हामीलाई जनताको साथ छ । माथि नेता मिलेका होलान् । तल गाउँमा जनताको मत उनीहरुसँग जोडिएको छैन, हामीसँग जोडिएको छ ।

प्रस्तुति : गणेश आचार्य

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर