पोखराको ल्याण्डफिल साइट : गठबन्धनको मत घट्ने डरले अनिर्णयको बन्दी – Nepal Press

पोखराको ल्याण्डफिल साइट : गठबन्धनको मत घट्ने डरले अनिर्णयको बन्दी

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले वुधबार राति महानगरपालिकाको फेसबुक पेजमार्फत एक भिडिओ सार्वजनिक गरे । राति १२ बजे पोस्ट गरिएको सो भिडिओमा उनले महानगरले ल्याण्डफिल साइट स्थातान्तरण गर्न लागेको र यसका लागि सम्भावित ठाउँ हेरिरहेको बताएका छन् ।

मंसिर १४ गतेदेखि एक सातासम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाईको जहाजले यान्त्रिक उडान गर्नेछ । तर, विमानस्थल सञ्चालनको मूख्य समस्याको रुपमा देखिएको ल्याण्डफिल साइटबारे पोखरा महानगरले हालसम्म निर्णय गर्न सकेको छैन । विमानस्थल सञ्चालनमा आउने भएपछि त्यसअघि नै ल्याण्डफिल साइट व्यवस्थापन गर्ने चुनौती अहिले मेयर आचार्यसामु छ ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अघि ल्याण्डफिल साइटको बारेमा निर्णय सार्वजनिक गरे गठबन्धनको मत काटिने डर अहिले मेयर आचार्य र यहाँका गठबन्धनका नेतामा छ । यसकारण पनि मेयर आचार्यले राति १२ बजे भिडियो सार्वजनिक गर्दै अहिलेसम्म ल्याण्डफिल साइट कहाँ बनाउने भन्ने तय भइनसकेको बताएका छन् ।

‘अहिलेसम्म हामीले विभिन्न सात स्थानको अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भैसकेको छैन, स्वाभाविक रूपमा हामी धेरै ठाउँमा हेर्न गइरहेका छौँ, स्थानीयहरूले अनुमान लगाउनु भएको छ, शंका गर्नुभएको छ,’ मेयर आचार्यले भने, ‘यहाँ त्यहाँ भनेर सामाजिक सञ्जालमा चर्चा गरिएको छ, तर हामीले ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।’

वुधबारसम्म पोखरा २२ मा ल्याण्डफिल साइट बनाउने भन्ने आन्तरिक निर्णय भइसके पनि यसबाट महानगर पछि हटेको बुझिएको छ । मेयर आचार्यले पोखरा २२ पुम्दिभुम्दिमा ल्याण्डफिल साइट लैजान खोजेपछि त्यहाँका स्थानीयले वुधबार सामाजिक सञ्जाल तताएका थिए । ‘गठबन्धनको उपहार–ल्याण्डफिल साइट’, ‘फोहोर लिन गाडी आएन भन्थ्यौं, ’अहिले फोहोर नै यहाँ फ्याँक्न लागे,’ यस्तै पोस्ट फेसबुकमा छरपस्ट थिए ।

पोखरा २२ का स्थानीयले विरोध गरेपछि र गठबन्धनले त्यहाँ ताकेको मत नपाउने देखेपछि रातारात मेयर आचार्यले भिडियो सार्वजनिक गरेका हुन् । पोखरा २२ कास्की ३ मा गठबन्धनका उम्मेदवार माओवादी नेता तथा अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ को क्षेत्र हो । यस वडाबाट गठबन्धनले ८० प्रतिशत मत पाउने गठबन्धनको अपेक्षा छ ।

पोखरा २२ मा ६८ सय मतदाता छन्, जहाँको ८० प्रतिशत मत पाएर बरालसहित गठबन्धनका अन्य उम्मेदवार सुरक्षित बन्न चाहन्छन् । आफ्नै वडामा ल्याण्डफिल साइट बनाए मत नआउने डर देखेपछि मन्त्री बरालले त्यहाँ ल्याण्डफिल साइट नबनाउने वक्तव्य जारी गर्न मेयर आचार्यलाई आग्रह गरेका थिए ।

मेयर आचार्यले अहिले ल्याण्डफिल साइट सार्नका लागि पोखराको वडा नंं. २१, ३३, २२ र १७ लाई जोड दिँदै तयारी थालेका छन् । यसमध्ये पनि कास्कीको पोखरा वडा नं. २१ र स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ५ सीमानाका पर्ने बक्रेक नजिकै हाल ल्याण्डफिल साइट स्थापनाको लागि जोडबल गरिएको छ । जसका लागि पोखरा महानगरपालिका र पुतलीबजार नगरपालिकाका प्रमुखसहितको बैठक बसी दुई पक्षीय सहमति गरी समितिसमेत गठन भइसकेको छ ।

पोखरातर्फ वडा नं. २१ को केही भूभाग र पुतलीबजार वडा नं. ५ तर्फको मुख्य जमिन क्षेत्र रहने गरी स्थानीयसँग जग्गाको विषयमा छलफल गरी प्रक्रिया अघि बढाउन ७ सदस्यीय समिति गठन भएको पुतलीबजारका मेयर तुल्सीराम रेग्मीले जानकारी दिए ।

पुतलीबजार ५ का वडाध्यक्ष अर्जुनबहादुर कार्की संयोजक रहेको समितिमा पोखरा वडा नं. २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी, कृस्तिका पूर्व गाविस अध्यक्ष पूर्णबहादुर थापा, पोखरा महानगरपालिकाका इन्जिनियर नेत्र तिमिल्सिना, पुतलीबजारका इन्जिनियर गोविन्द दोरङ्गा, सदस्यसचिव धनप्रसाद कोइराला र जग्गाधनी शेरबहादुर शाही (कृष्ण) रहेका छन् ।

समितिले चुनाव लगत्तै कामकारबाही अघि बढाउने गरी छलफल टुंगिएको मेयर रेग्मीले जानकारी दिए । यता, समितिका सदस्य रहेका पोखरा २१ का अध्यक्ष दीपकप्रसाद सुवेदीले भने समिति बनेपनि उक्त स्थानमा ल्याण्डफिल साइट बनाउने विषय जटिल रहेको बताए ।

स्थानीयको सहमति बेगर ल्याण्डफिल साइट नबन्ने उनले बताए । ‘दुईवटै पालिकाबाट समिति बनाउने विषयमा टुंगो लागिसकेको रहेछ । मलाई बोलाइएपछि कार्यपालिका सदस्य भएकाले मेयरको प्रस्तावलाई हुन्न भन्न मिलेन । यो छलफलकै विषय हो,’ उनले भने ।

मेयर आचार्य पोखरा २१ मा सहमति हुन नसके तनहुँसँग सीमा क्षेत्र जोडिएको पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउने गरी तयारीमा छन् । पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले ३३ को चार पाँच ठाउँमा हेरिसकिएको र विकल्पका रुपमा राखिएको बताए ।

हाल केन्द्रित गरिएका वडामध्ये जुनसुकैमा पनि ल्याण्डफिल साइट रहन सक्ने बताउँदै वडाध्यक्ष अधिकारीले ३३ मा आउने भए स्थानियको सहमतिमै हुने गरी पहिले जस्तो नभइ व्यवस्थित र नयाँ प्रविधियुक्त बनाइने उल्लेख गरे ।

मेयर आचार्यले अहिले पोखरा १७ मा फोहोर वर्गीकरण गर्ने गरी सेग्रिगेशन सेन्टर बनाउने योजनामा छन् । यसका लागि उनले पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीलाई पनि प्रस्ताव राखेका छन् ।

वडाध्यक्ष शाहीले पोखराको सेग्रिगेशन सेन्टर स्थापना गर्न मेयर आचार्यले आफूसँग सल्लाह गरेको बताइन् । वडाध्यक्ष शाहीले १७ मै फोहोर वर्गिकरण गर्ने आन्तरिक रणनीतिमा मेयर रहेको देखिएको उल्लेख गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर