संसद् छिरेपछि जसले प्रत्यक्ष कार्यकारीको मुद्दा उठाउँछ, उसैलाई समर्थन : स्वतन्त्र उम्मेदवार केसी – Nepal Press

संसद् छिरेपछि जसले प्रत्यक्ष कार्यकारीको मुद्दा उठाउँछ, उसैलाई समर्थन : स्वतन्त्र उम्मेदवार केसी

काठमाडौं । किरण केसी काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार हुन् । क्रस खुकुरी चुनाव चिह्न पाएका केसी आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् । तर, ६१ हजार दुई सय ९१ जना मतदाता रहेको यस क्षेत्रमा सत्ता गठबन्धनकी मानुषी यमी भट्टराई र एमालेका श्यामकुमार घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिँदै आएको छ ।

साथै यस क्षेत्रमा निवर्तमान सांसद तथा पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्व संघीय सांसद तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ समेत चुनावी मैदानमा छन् ।

१३ दलीय र १६ स्वतन्त्र गरी २९ जना उम्मेदवार रहेको यस क्षेत्रका मेकानिकल इन्जिनियर केसी भन्छन्, ‘मेरो स्वतन्त्र उम्मेदवारी लहडमा आएको होइन । अत्यधिक मत ल्याएर निर्वाचित हुनलाई हो मेरो उम्मेदवारी ।’

केसीले अष्ट्रेलियाबाट मेकानिकल इन्जिनियरिङमा मास्टर्स गरेका छन् । अष्ट्रेलियामा आफ्नै कम्पनी खडा गरेर काम गरिरहेका छन् । तर, यस पटकको निर्वाचनमा भने उनी नेपाल आए । उम्मेदवारी दर्ता गरे । र चुनावी मैदानमा होमिए ।

अहिले घरदैलो कार्यक्रममा व्यस्त केसीका अनुसार टेस्टेड नेताहरूले राज्यको स्रोत र साधन दुरुपयोग मात्रै नगरेर जनताको अमूल्य अभिमतको पनि दुरुपयोग गरेकाले त्यसलाई रोक्नका लागि चुनावी मैदानमा होमिएका हुन् ।

उनी भन्छन्, ‘पार्टीका नेताहरूले कामै गर्न नसकेपछि जनता वाक्क भएको र आफूले बोकेको विचार र उठाएको एजेन्डाहरू राष्ट्रका लागि फाइदाजनक देखेपछि उम्मेदवारी दिएको हुँ । साथै दलीय साङ्लोबाट बाँधिएकाले स्वतन्त्र उम्मेदवारीको आवश्यकता देखेकाले मैदानमा निस्किएको हुँ ।’

केसीको योजना छ, ‘निर्वाचित भएपछि जनताका मसिना समस्याहरूको समाधान गर्नेछु । आर्थिक अनियमितता हुन दिनेछैन । सम्पूर्ण बजेट कतै नचुहाई पारदर्शी ढंगले विकास निर्माणमा खर्च गर्नेछु । हरेक वर्ष एसईई दिने भाइबहिनीहरूसँग सर्टिफिकेट मात्रै हातमा हुन्छ, तर उनीहरूको हातमा सिप हुँदैन । त्यसैले प्राविधिक शिक्षालाई प्राथमिकता दिन्छु । मन्टेस्वरी किन्डर गार्डेन सबैको पहुँचमा पुर्‍याउँछु । सरकारी स्कुलमा प्रतिविद्यार्थी २१ सय खर्च हुन्छ भने निजी स्कुलमा ७ सय मात्रै हुन्छ । तर, दुवैको गुणस्तरमा आकाश जमिनको फरक छ । त्यहाँ ध्यान दिनेछु ।’

आफूलाई मतदाताले विश्वास गरेकाले आफ्नो एजेन्डा सेट गर्ने ठाउँमा पुग्ने दाबी केसीको छ । संसद्मा छिरेपछि भने स्वतन्त्र सांसदको हैसियत भए पनि जसले प्रत्यक्ष कार्यकारीको मुद्दा उठाउँछ, उसैलाई समर्थन गर्ने टेस्टेड नेताहरूलाई पुनः पदमा पुग्न रोक्ने उनको योजना छ ।

भिडिओ : नविनमुनि स्थापित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर