योगेशको नयाँ शैली- भेट्न नपाएका मतदातालाई खामबन्दी चिठी – Nepal Press

योगेशको नयाँ शैली- भेट्न नपाएका मतदातालाई खामबन्दी चिठी

योगेश भट्टराईको राष्ट्रिय व्यक्तित्व र पूर्वाधार विकासमा गरिएका कामलाई मतदातासमक्ष लैजाँदै एमाले

ताप्लेजुङ । उम्मेदवारहरूले चुनावमा मत माग्न घरदैलोसँगै सामाजिक सञ्जालहरूको भरपुर उपयोग गरिरहेका छन् । तर, नेकपा एमालेका सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईले भने नयाँ शैली पनि अपनाएका छन् ।

दोस्रोपटक ताप्लेजुङबाट जित निकाल्न प्रयास गरिरहेका भट्टराईले मतदातालाई हुलाकबाट खामबन्दी चिठी पठाएर आफूसहित प्रदेशसभाका दुई उम्मेदवारका लागि मत मागेका छन् ।

इन्टरनेटको दुनियाँ र सहज सन्चारका कारण लोप हुँदै गएको हुलाकबाट यसपटक ताप्लेजुङमा भने घरघरमा पत्र पठाइँदैछ । प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराई र प्रदेशसभा १ का तीलकुमार मेन्याङ्वो र २ का गोपाल थोप्राले हस्ताक्षर गरेको पत्रमा सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारलाई विजयी गराउन अपिल छ ।

हुलाकबाट ढिला हुने ठाउँमा कार्यकर्तामार्फत घरघरमा पठाइएको पत्रमा विगतमा आफूहरूले थालेका विकासका कामलाई पूर्णता दिन र सबैको पहिचानलाई संरक्षण र सम्वर्द्धन गर्न एमालेको जित आवश्यक रहेको उल्लेख छ ।

पहिलोपटक ताप्लेजुङबाट चुनाव जितेर मन्त्रीसमेत भएका भट्टराईले आफ्नो पालामा अघि सारिएका विकास आयोजनाहरूलाई चुनावी मुद्दा बनाएका छन् ।

अघिल्लो पटक ताप्लेजुङबाट प्रतिनिधिसभामा योगेशसँगै प्रदेशसभामा बलबहादुर साम्सोहाङ र टंक आङबुहाङ निर्वाचित भएका थिए । माओवादीबाट निर्वाचित टंक पनि अहिले एमालेमै छन् र उनी समानुपातिक उम्मेदवार छन् । माओवादीको एउटा पंति तत्कालीन नेकपा विभाजनको बेला केपी ओली पक्षमा बसेर एमालेमा रहेकाले योगेशलाई गठबन्धनसँग चुनाव लड्दा पनि अनुकूल अवस्था देखिन्छ ।

योगेश, टंक र बलबहादुर तीनैजना अघिल्लो कार्यकाल संघ र प्रदेशको मन्त्री हुँदा जिल्लाको विकासमा गरेका कामहरु नै अहिले एमालेको चुनावी एजेण्डा पनि बनेका छन् । उनीहरूले सुरूमा जिल्लाको पूर्वाधार विकासमा जोड दिए ।

योगेश भन्छन्, ‘जिल्लाको विकास भनेको मुलतः पूर्वाधारको विकास नै हो । हाम्रो प्राथमिकता सोही अनुरुप रह्यो । ओलाङ्चुङगोला हुँदै तिब्बतसँग जोड्ने तमोर करिडोर, सदरमुकामदेखि उत्तरी क्षेत्र जोड्ने सुकेटार-गढी-थिवा सडक, ताप्लेजुङको पूर्वी क्षेत्रलाई समेट्ने काबेली करिडोर, मदन भण्डारी मार्ग, इवा-निगुरादिन-हाङ्पाङ-ढुंगेसाँघु सडक, सुकेटार-काफ्लेपाटी सडक, बाहनन्दे-दोभान सडकलाई प्राथमिकतामा राखेर काम गरेका छौं ।

त्यसो त योगेश राष्ट्रियस्तरको नेता हुनुको फाइदा पनि ताप्लेजुङले पाएको छ । अहिले पनि एमाले उम्मेदवार भट्टराईको व्यक्तित्वका कारण प्रदेशका उम्मेदवार समेत बलियो पोजिसनमा छन् ।

योगेश पर्यटनमन्त्री भएका बेला जिल्लाका पर्यटकीय क्षेत्र तिम्बुङपोखरीद, फुङफुङदेन झरना, मिल्के जलजले, पाथीभरालाई देशको सय गन्तव्य सूचीमा सूचीकृत गरी पूर्वाधार निर्माणका लागि करोडौं रकम विनियोजन गराएका थिए ।

त्यस्तै ओलाङचुङगोलामा रहेको नेपालको पुरानो डिकीछोलिङ गुम्बालगायत जिल्लाका २९ वटा गुम्बालाई रकम विनियोजन गराएको विषयलाई पनि एमालेले अहिले मतदातासमक्ष लगेको छ । ताप्लेजुङ सुकेटार विमानस्थलको विस्तार, स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खेल मैदान, सडक, विद्यालय, स्वास्थ्य, शिक्षा पाथीभरा क्षेत्रमा वृहत् खानेपानी आयोजनामा उल्लेख्य बजेट विनियोजन गराएका थिए योगेशले ।

भौतिक पूर्वाधारको हिसाबले पाथीभारा/मुकुलुङले मुहार नै बदल्यो । ८ करोड २२ लाखको खानेपानी योजनाबाट पाथीभरा/मुकुलुङको खानेपानी समस्या समाधान भएको छ ।

योगेशसँग गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकी चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर