अपाङ्गता भएकाहरूको चिन्ता : भोट माग्ने, सहज व्यवस्थापनका वास्तै नगर्ने – Nepal Press

अपाङ्गता भएकाहरूको चिन्ता : भोट माग्ने, सहज व्यवस्थापनका वास्तै नगर्ने

रुपन्देही । रुपन्देहीको तिलोत्तमा निवासी दृष्टिबिहीन टिकाराम घिमिरेले संविधानले व्यवस्था गरेको गोप्य मतदानको अधिकार अपाङ्गता भएकाहरुका लागि कहिले लागू हुने भनेर उठाएको प्रश्नको जवाफ पाएका छैनन् तर उम्मेदारले भने मत मागेका छन् ।

उनलाई निर्वाचनमा आफू र आफूजस्तै व्यक्तिहरुको मतलाई कसरी गोप्य तरिकाले खसाउन सकिन्छ भन्ने विषयले झस्काउन थालेको छ । पेशाले सञ्चारकर्मी रहेका घिमिरे नेत्रहीन युवासंघ रुपन्देहीका सदस्य हुन् । दृष्टिविहीन भएका कारण हरेक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न अन्य व्यक्तिको सहारा लिनुपर्ने हुन्छ । प्रविधियुक्त निर्वाचन प्रणली नै यसको विकल्प रहेको उनको भनाइ छ ।

रुपन्देही नेत्रहीन युवासंघका अध्यक्ष टिकाराम पौडेलले यो पटकको निर्वाचनमा भने आफ्नो इच्छ्याएको व्यक्तिलाई सहयोगीको रुपमा राखेर मतदान गर्न पाउने व्यवस्था गर्न माग गरे । अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा मतदान गर्न पाउनुपर्ने गरी अभियान नै सञ्चालन गरिएपनि सरोकारवाल पक्षले खासै चासो नदिएको उनको गुनासो छ ।

उनका अनुसार स्थानीय तहमा खासगरी दृष्टिविहीनता भएका व्यक्तिहरुले आफ्नो सहयोगी समेत लैजान नपाउने अवस्था रहेको भन्दै कर्मचारी वा प्रहरीको सहायतमा मतदान गर्दा मतको गोपनियता पनि नभएको अवस्था आएको बताउँछन् । ‘दृष्टिविहीन मतदाताहरुले आफ्नो मताधिकार सहज रुपमा प्रयोग गर्न पाएको पाइएको छैन, यसलाई यो बर्ष सुधार हुने अपेक्षा गरेका छौं ।’ उनले भने ।

निर्वाचनलाई अपाङ्गतामैत्री वनाउनको लागि मतदान अधिकृतसहित जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा पदाधिकारीहरुलाई समेत यो विषयमा पटक पटक ध्यानाकर्षण गराइएको छ ।

निर्वाचनको समयमा दृष्टिविहीनहरुका लागि उनीहरुले इच्छाएको व्यक्तिबाट मतदान गर्ने व्यवस्था भएपनि उक्त व्यक्तिले आफूले भनेकै चुनाव चिन्हमा मतदान दिएको ग्यारेन्टी भने नहुने उनले बताउँछन् । यसैगरी मतदानमा सहयोग गरिदिएका व्यक्तिले नै आफ्नो गोप्य मतदानको कुरा बाहिर सार्वजनिक गरिदिने डर पनि उत्तिकै हुने उनले बताउँछन् ।

गोप्य मतदान गर्न पाउने हरेक मतदाताको अधिकार उल्लेख गरे पनि व्यवहारिक रुपमा अपाङ्गता भएकाहरुलाई विभेद गरिएको उनले गुनासो गर्छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वानमा भएको अफ्ठेरोका विषयमा उनीहरुले केही अनुभव पनि संगालेका छन् ।स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शिवपुर मा.वि. मतदान केन्द्रमा मतदान गर्न एक जना शरीरिक अपाङ्गता भएका व्यक्तिले आफ्ना सहयोगसहित भित्र गएर मतदान गर्न पाएनन् ।

पूर्णरुपमा अपाङ्गता भएका उनी सहयोगीबिना एक पाईला चाल्न नसक्ने उनलाई सहयोगीसहित मतदान केन्द्र पुगेका उनलाई मतदानस्थलमा भने एक्लै भुईमा घर्सिएर जानु प¥यो । घर्सिदै गएर उनले मतदान गरे । यस पटकको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उनी भोट हाल्नै नजाने मनस्थिति बनाएका छन् ।

रुपन्देहीको देवदह नगरपालिकामा रहेका बहिरा व्यक्तिहरुलाई निर्वाचन केन्द्रसम्म लगेर मतदानका लागि लगेपनि राजनीतिक दलका व्यक्तिहरुले त्यहीं नै छाडेर आए । जंगलको बाटो केही समूहमा रहेका उनीहरुले अव भोट हाल्न जाने की नजाने भन्ने मनस्थिति बनाएका छैनन् ।
बुटवल बहुमुखी क्याम्पसमा ह्वीलचियर प्रयोग गरी भित्र जाँदा संरचना नै ह्लीलचियर प्रयोग गरेर जाने गरी नबनाइएको कारण उनले सहयोगीलाई नै मत हाल्न भने, आफु केही भित्रसम्म मात्रै गएर फर्किए ।

बुटवल देवीनगरमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा मतदान केन्द्र सबैभन्दा बढी व्यस्त, भिडभाड हुने केन्द्र हो । यहाँ ठूलो मतदाताको संख्या रहेको छ । ह्वील चियर सहित मतदान गर्न गएका देवीनगरमा शारीरिक अपाङ्गता भएका एक व्यक्तिले भित्र गएर मत पत्र लिए, छाप लगाउने स्थान र मत खाल्ने स्थान ह्वीलचियर जाने अवस्था नै नभएको कारण नजिकैका प्रहरीलाई भनेर मत खसालेर घर गए ।

यी केही उदाहरण मात्रै हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा मतदान गरेका केही अपाङ्गता भएका व्यक्तिहरुको विषयमा अध्ययन गरेकी रुपन्देही नेत्रहीन युवासंघ नेपालका सुस्मा हुमागाईसँग अपाङ्गता भएका व्यक्तिहरुले व्यक्त गरेका विचार हुन् ।

यो जिल्लामा मात्रै करिव १० हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेपनि कति मतदाता छन् भन्ने ठ्याक्कै विवरण भने उपलब्ध छैन कसैसँग । ती मध्ये करिव ५ सय जनाभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुलाई नेत्रहीन संघले निर्वाचन मतदाता शिक्षा दिएको छ । उनीहरु मतदान गर्न योग्य मतदान परिचय पत्र भएका व्यक्तिहरु हुन् ।

अपाङ्गता पहुँच परियोजनाका अधिकृत लक्ष्मी पाण्डेका अनुसार अघिल्लो स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुलाई लाइनमा बस्न नपर्ने गरी व्यवस्थापन गरिएको पाइएपनि भित्र गएपछि मताधिकार प्रयोगमा सहजीकरण नभएको पाइएको थियो ।

यो विषयमा पटक पटक निर्वाचन अधिकृत, कर्मचारी, मतदान अधिकृतहरुलाई जानकारी गराइएको यो पटक सुधार हुने अपेक्षा आफूले लिएको उनको भनाइ रहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले नेपाल अपाङ्गता भएका व्याक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी(युएनसिपीआरडी) को सदस्य राष्ट्र भएको कारण सहज रुपमा विनाअवरोध अपाङ्गता भएका व्यक्तिहरुले मतदान गर्न पाउनुपर्ने गरी व्यवस्थापन हुन अवाश्यक रहेको बताउँछन्।

नेपालको संविधान २०७२, अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४ को दफा ११ तथा अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा २९ ले अन्य व्यक्तिसरह अपांगता भएका व्यक्तिहरुले पनि राजनीतिमा सहभागिता हुन पाउने हक सुनिश्चित गरेको छ भन्दै उनले यसमा सबैले सहयोग, साझेदारी गर्नुपर्ने बताउँछन् ।

उनले लुम्बिनी प्रदेशमा करिव १ लाख ५० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्यांक रहेकोका करिव ५० देखि ५५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु निर्वाचनमा मतदाता रहेका छन् । अपाङ्गतामैत्री संरचना पूर्णरुपमा कार्यान्वयन नभएको कारण लुम्बिनी प्रदेशमा करिव ७५ हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु यसबाट प्रभावित हुने निश्चित रहेको अध्यक्ष अधिकारीको भनाई रहेको छ ।

स्थानीय तह निर्वाचनअघि १८ वर्ष उमेर पूरा गरेका तीन लाख २३ हजार सात सय ७८ पुरूष, तीन लाख आठ हजार पाँच सय ७४ महिला र आठ जना तेश्रो लिङ्गी गरी रुपन्देहीमा जम्मा मतदाता ६ लाख ३२ हजार तीन सय ६० जना मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि सात हजार आठ सय ९४ पुरुष, सात हजार दुई सय २८ महिलाले नाम दर्ता गराएको थिए, जसअनुसार ६ लाख ४७ हजार चार सय ८२ जना मतदाता रहने अनुमान निर्वाचन कार्यालय रुपन्देहीको छ । जिल्लामा मतदान स्थल २ सय ८ तथा केन्द्र छन् । ६ लाख ४७ हजार चार सय ८२ जना मतदाता रहेको निर्वाचन कार्यालय रुपन्देहीले गरेको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र १ मा एक लाख ४१ हजार पाँच सय नौ जना मतदता रहेका छन् । जसको (क) मा ७३ हजार तीन सय २७ र (ख) मा ६८ हजार एक सय ८२ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर २ को (क) मा ६४ हजार चार सय ५२ र (ख) मा ६४ हजार दुई सय २५ गरी एक लाख २८ हजार ६ सय ७७ मतदाता रहेका छन् ।

निर्वाचन क्षेत्र ३ को (क) मा ६६ हजार तीन सय ३१ र (ख) मा ६८ हजार चार सय ३३ गरी कुल १ लाख ३४ हजार सात सय ६४ मतदाता रहेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा ५३ हजार नौ सय ९१ र (ख) मा ५८ हजार ७० गरी कुल एक लाख १२ हजार ६१ मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर ५ को (क) मा ७५ हजार पाँच सय २८ तथा (ख) मा ५४ हजार नौ सय ४३ गरी एक लाख ३० हजार चार सय ७१ मतदाता रहेका छन् ।

१० वटा निर्वाचन केन्द्र अपाङ्गमैत्री

यो पटक रुपन्देहीका १० वटा निर्वाचन केन्द्र अपाङ्गतामैत्री निर्वाचन केन्द्र बनाइने भएको छ । विदेशी दातृ निकायको सहयोगमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ र २ का १० वटा निर्वाचन क्षेत्र अपाङ्गतामैत्री बनाउन लागिएको हो ।

अभियान्ता सावित्रा घिमिरेका अनुसार बुटवलको दिपनगरमा रहेको सिद्धेश्वरी लालकुमारी मावि मतदान केन्द्र, बुटवल बहुमुखी क्याम्पस मतदान केन्द्र, जनजागृती मावि योगीकुटी मतदान केन्द्र सहित १० वटा केन्द्रलाई अपाङ्गतामैत्री मतदान केन्द्र बनाउने पहल भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर