छोरीलाई भोट होइन सुनको सिक्री दिने हो- ठाकुरको भाइरल भाषण आफैंलाई भाउँतो (भिडिओ) – Nepal Press

छोरीलाई भोट होइन सुनको सिक्री दिने हो- ठाकुरको भाइरल भाषण आफैंलाई भाउँतो (भिडिओ)

चितवन । दुई सशक्त महिलासँग प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका माडी नगरपालिकाका पूर्वमेयर ठाकुर ढकाललाई आफ्नै विगतको भाषण घाँडो भएको छ । महिलालाई होच्याउँदै चितवन क्षेत्र नम्बर ३ (२) का प्रदेशसभा उम्मेदवार ढकालले दिएको स्त्रीद्वेषी अभिव्यक्ति अहिले भाइरल भइरहेको छ ।

माडी नगरपालिकाको मेयरसमेत रहिसकेका माओवादी केन्द्रका नेता ढकाल सो क्षेत्रबाट गठबन्धनको प्रदेशसभा उम्मेदवार छन् । त्यस क्षेत्रमा एमालेले सरस्वती विष्ट र राप्रपाले रीना गुरुङलाई उम्मेदवार बनाएका छन् । गुरुङ यसअघि समानुपातिक सांसद थिइन् ।

मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धन दलले चितवनबाट प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार उठाएका छैनन् । उल्टै महिला उम्मेदवारलाई लक्षित गरेर छोरीलाई पैसा र सुन दान दिनुपर्ने तर मतदान गरे ठूलो भूल हुने चेतावनी दिएको भिडिओ भाइरल भएको छ ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा माडी नगरपालिकाभित्र चुनावी घरदैलो चलिरहेको थियो । मेयरका उम्मेदवारको लागि सोही क्रममा ढकाल भोट माग्दै थिए । उनले आफ्नै पार्टीका मेयरका उम्मेदवारलाई भोट माग्ने क्रममा माडीको थारु बस्तीमा भोट माग्न भाषण गरे ।

भाषणका क्रममा उनले भनेको शब्द यस्तो थियो, ‘छोरीलाई दान दिने घर आउँदा पैसा छ भने सुनको सिक्री दान दिने हो । छोरीलाई मत दिने होइन ।’

हेर्नुहोस् भिडियो :

माडी नगरपालिकामा एमालेले ताराकुमारी काजी महतोलाई उम्मेदवार बनाएको थियो । महिलालाई भोट दिएर गल्ती गर्न नहुने भन्दै उनले छोरीचेली, बुहारी भनेर भोट दिइयो भने विकासमा पछि परिने बताएका थिए । यद्यपि माडीको मेयरमा एमालेकी ताराकुमारी विजयी भइन् ।

विगतमा महिलालाई भोट दिनु अपराध हुने भाषण गरेका ढकाल स्वयं यसपटक दुई महिलासँग प्रतिस्पर्धा गरिरहेका छन् । महिलासम्बन्धी उनले गरेको विभेदकारी भाषणलाई अहिले विपक्षीले पनि भाइरल बनाएका छन् ।

चितवनकै मतदातासमेत रहेकी लेखक तथा पत्रकार प्रतिमा सिलवाल विवाह गरेर गएकी महिलालाई माइतीमा परिवारको सुखदुःखमा समान रुपले सहभागी हुनसक्ने अवस्थालाई नकार्ने उम्मेदवार ढकालको चेतनास्तर स्थानीय जनताले राम्ररी बुझ्नुपर्ने बताइन् ।

उनी भन्छिन्, ‘छोरीले बाबुआमाको मृत्युकर्मदेखि हरेक सामाजिक परम्परामा बराबरी स्वामित्व र दायित्व हाम्रो समाजमा लिँदै आएका छन् । तर, मर्दापर्दा चाहिने पुरुषमात्रै हुन् भन्ने चेतनास्तर भएका नेताले निर्वाचित भएरै गए पनि कस्तो विकास गर्लान् भन्ने पक्कै मतदाताले मूल्यांकन गर्लान् ।’

माडीको सार्वजनिक जमिन भाइ भाञ्जालाई

ढकाल माडी नगरपालिकामा मेयर भएका वेला पनि विवादमा परेका व्यक्ति हुन् । जग्गा प्लटिङ र भाडा प्रकरणमा अख्तियारको अनुसन्धानमा समेत परेका ढकालले आफू र आफ्ना आसेपासेको सीमित स्वार्थ पूरा गर्न माडीका सार्वजनिक जमिन बाँडेको आरोप छ ।

सार्वजनिक जमिन जसलाई नगरले नै संरक्षण गर्नुपर्ने जिम्मेवारी थियो, ती जमिनको लगत यकिन नै नगरी ठूलो रकम हत्याएर मनलाग्दी भाडामा लगाएको आरोप ढकालमाथि छ ।

अख्तियारको पत्र आएपछि सार्वजनिक जमिन भाडामा दिने निर्णय उल्ट्याए पनि उक्त निर्णय कागजमा मात्रै सीमित भयो । अझै पनि माडी वडा नम्बर ९ को सार्वजनिक जमिनमा ढकालका भाञ्जाले माछापालन गर्दै आएका छन् ।

ढकाल त्यस्ता मेयर बने जसले विश्वको युनेस्कोमा सूचीकृत निकुञ्जको मध्यवर्ती क्षेत्रमा मान्नुपर्ने न्यूनतम नियम नमानेर कारबाहीमा परे । त्यो पनि निकुञ्ज प्रशासनबाट । उनले मध्यवर्ती क्षेत्रमा पर्ने सार्वजनिक जमिन मनलाग्दी भाडामा दिएको र ठूला उपकरण लगाएर मध्यवर्ती क्षेत्रका जमिन खनेको कारण चितवन राष्ट्रिय निकुञ्जले ढकालसहित माडीका सम्पूर्ण जनप्रतिनिधिलाई मुद्दा चलायो ।

ढकालकै कारण अरु जनप्रतिनिधि पनि उक्त मुद्दामा फसेको चितवन राष्ट्रिय निकुञ्जका माथिल्लो तहका कर्मचारीले बताउँदै आएका छन् ।

भूमि मन्त्रालयले नै रोकेको खेतीयोग्य जमिन कित्ताकाटको परिपत्रलाई लत्याउँदै काठमाडौंका केही व्यवसायीको मिलेमतोमा ढकालले माडीको सयौं बिगा खेतीयोग्य जमिन हडपेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर