बैंकले धितोलिलामी आतंक मच्चायो: व्यवसायी महासंघ – Nepal Press

बैंकले धितोलिलामी आतंक मच्चायो: व्यवसायी महासंघ

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्नेमा जोड दिएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुले अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताएका हुन् ।

ब्याजदर एक अंकमा हुनुपर्ने बताएको महासंघले बैंकहरुले लिलामबिक्रीको आतंक मच्चाएको आरोपसमेत लगाएको छ । करोडौं रकम पर्ने धितोमा रहेको घरजग्गा पचाउने नियतले बैंकहरुले ३५ दिने सूचना निकाल्ने गरेको महासंघको आरोप छ ।

संकटको वेलामा सामान्य मानवीयतासमेत बैंकहरुले नहेर्ने भन्दै महासंघले ३५ दिने सूचनालाई बढाएर ६ महिना बनाउनुपर्ने माग गरेको छ ।

‘संकटको अवस्थामा सामान्य मानवीयता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौं मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोसिस गरेको पाइएको छ’, अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तिमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनुपर्छ ।’

बैंकहरुले ओडीलगायतका कर्जा ठप्पै बनाउँदा धेरै व्यवसायीहरु व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘ उद्योगी व्यवसायीहरुलाई ऋण चुक्ताका लागि अनावश्यक दबाब दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितोलिलामको समयावधि बढाएर ६ महिना पु¥याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *