सेयर बजारलाई चुनावी रौनकले छोएन, बजार फर्किनेबारे यस्तो छ विश्लेषकहरूको अनुमान – Nepal Press

सेयर बजारलाई चुनावी रौनकले छोएन, बजार फर्किनेबारे यस्तो छ विश्लेषकहरूको अनुमान

काठमाडौ । सेयर बजार अझै घट्नसक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । कुनै समय ३२ सयको उच्चतम विन्दु पार गरेको नेपालको धितोपत्र बजार अहिले १८ सयको विन्दुबाट तलमाथि भइरहेको छ ।

आइतबार बजार १ हजार ८ सय ८३.१६ को विन्दुमा आएर रोकियो । उच्चतम विन्दुलाई आधार मान्दा यो अवधिसम्म सेयर बजार १४ सय विन्दुभन्दा बढीले घटिसकेको छ । सामान्यतया चुनावी गतिविधि बढेसँगै सेयर बजारको गतिविधि पनि बढ्ने ट्रेण्ड भए पनि अहिलेसम्म बजारको अवस्थाले लगानीकर्ता उत्साहित देखिएका छैनन् ।

अर्बमा हुने कारोबार आइतबार करोडमा खुम्चिएर ७७ करोडमा झर्‍यो ।

सेयर बजारलाई सपोर्ट हुने खालका गतिविधि नहुँदा अझै घट्न सक्ने अनुमान हुन थालेको छ । सेयरका प्राविधिक विश्लेषक विष्णु बस्याल अझै एक डेढ महिना बजारले तल्लो विन्दुको सर्पोट लिनसक्ने सम्भावना देख्छन् ।

उनी भन्छन्, ‘बजार १७ सयको प्लस अथवा माइनस ५० मा रहने अर्थात १६५० देखि १७५० सम्मको विन्दुमा सर्पोट लिने देखिन्छ । एक-डेढ महिनासम्ममा यस्तै भएपनि त्यसपछि बजार फर्केर यस अघिको उच्चतम विन्दुसमेत पार गर्नसक्ने देखिन्छ ।’

बजारप्रति सरकारी नीतिले सहयोग नगरेको भन्दै तल्लो विन्दुको सपोर्ट लिइसकेपछि भने बजार ऐतिहासिक वृद्धितर्फ लम्बने बस्यालको विश्लेषण छ ।

विश्लेषक मुक्ति अर्याल अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य नै सकारात्मक नदेखिँदा नेपाली बजारमा रौनक नदेखिएको बताउँछन् । पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीको चर्चाले बजारमा दबाब देखिएको भन्दै उनले आगामी सरकार र त्यसको नीतिपश्चात बजारको भविष्य निर्धारण हुने बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बजार बढ्न नसक्नुमा ब्याजदर मुख्य कारण रहेको बताए । यद्यपि, चुनावपछि भने बजार आफ्नो गतिमा दौडने उनको पनि आशा छ ।

तलरता अभाव र ब्याजदर वृद्धिको चेपुवा

बैंक तथा वित्तीय क्षेत्रको प्रभुत्वका कारण राष्ट्र बैंकले लिने नीतिले नेपालको सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । केन्द्रीय बैंकले ४/१२ को नीति लिँदा बजार निकै प्रभावित बन्यो । लगानीकर्ताको व्यापक विरोधपछि केन्द्रीय बैंकले तल्लो सीमा (४ करोड) हटायो । यद्यपि बजारमा लगानी गर्ने रकमको अभाव सहज थिएन र अझै पनि छैन । जसका कारण ब्याजदर बढाउन सक्ने गरी राष्ट्र बैंकले नीति लियो । राष्ट्र बैंकको ग्रिन सिग्नलपछि बैंकहरू धमाधम ब्याज बढाउन थाले ।

अहिले बजार लयमा नर्फकनुको मूख्य कारण ब्याजदरलाई नै मानिएको छ । ब्याजदर वृद्धिको चौतर्फी विरोध भएपनि बैंकहरू पछि हटेका छैनन् । महंगो ब्याजमा ऋण लिएर सेयर किन्न सक्ने अवस्थामा लगानीकर्ता नदेखिएको लगानीकर्ता रौनियार बताउँछन् । लगातार बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाय छ । अहिले लगानीकर्ता आफूसँग भएको सेयर घाटा खाएर बेच्न चाहँदैनन् भने घटिरहेको बजारमा पनि थप लगानीको उत्साह छैन । अर्कोतिर कम्पनीहरूले धमाधम लाभांशसमेत घोषणा गरिरहेका छन् ।

पुँजी बजारका विज्ञ डा. गोपाल भट्ट भने अहिलेको गिरावट स्वाभाविक मान्छन् । यसअघि ३२ सयको विन्दुमा अस्वाभाविक वृद्धि भएर पुगेको र अहिले स्वाभाविक रूपले झरेको उनको बुझाइ छ ।

भट्ट भन्छन्, ‘नेपालको अर्थतन्त्र आफैँ दबाबमा छ । सेयर बजार वित्तीय क्षेत्रको प्रभुत्व भएको क्षेत्र हो । वित्तीय क्षेत्र नराम्रो अवस्थामा छैनन् । रियल सेक्टर पनि धेरै तल अथवा माथि गएको अवस्था छैन । आर्थिक वृद्धि उच्च छैन । सेयर बजारले वास्तविक अर्थतन्त्रलाई रिफ्लेक्ट गर्दैन । ’

देशको अर्थतन्त्रका अधिकांश सूचकमा दबाब छ । आगामी सरकार र त्यसले लिने आर्थिक नीति तथा लगानीको वातावरण कस्तो होला भनेर लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *