पटकपटक अभागी देखिएको नेदरल्यान्ड्सको यस्तो छ विश्वकप इतिहास – Nepal Press
विश्वकप फुटबल

पटकपटक अभागी देखिएको नेदरल्यान्ड्सको यस्तो छ विश्वकप इतिहास

काठमाडौं । विश्वकप फुटबल सहभागिता विश्वका धेरै देशका लागि सपना हुन्छ । ३२ टोलीमात्र सहभागी हुने र महादेशका लागि कोटा छुट्याइरहेकाले बलिया टोलीहरू पनि कहिले काहीँ छनोट हुन असफल हुन्छन् । विश्वकपमा सहभागी भएका देशको पनि आ-आफ्नै इतिहास छ ।

कोही हालसम्म समूहगत चरण पार गर्न सकेका छैनन् । केहीसँग प्रिक्वाटरफाइनल र क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको इतिहास छैन । २१ औँ संस्करण सकिँदासमम्म १३ देश फाइनल पुगेका छन् । यीमध्ये ८ देशले मात्र उपाधि जितेका छन् । फाइनल पुगेकामध्ये सबैभन्दा अभागी नेदरल्यान्ड्स देखिन्छ । तीनपटक फाइनल पुगेपनि नेदरल्यान्ड्सले हालसम्म उपाधि जित्न सकेको छैन ।

नेदरल्यान्ड्स पहिलोपटक सन् १९७४ मा फाइनल पुगेको थियो । तत्कालीन पश्चिम जर्मनीसँग फाइनलमा २-१ गोलले पराजित भएर नेदरल्यान्ड्स उपाधि जित्न असफल भएको थियो । त्यसपछि सन् १९७८ मा पनि नेदरल्यान्ड्स फाइनल पुग्यो । यसपटक पनि नेदरल्यान्ड्स घरेलु टोलीसँग पराजित भएर उपविजेतामा सीमित भएको थियो ।

अर्जेन्टिना त्यतिबेला अतिरिक्त समयम ३-१ गोलले विजयी भएर पहिलोपटक विश्व विजेता बनेको थियो । त्यसयता नेदरल्यान्ड्सलाई फाइनल पुग्न ३२ वर्ष लाग्यो । सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको संस्करणमा नेदरल्यान्ड्स फाइनल पुगेपनि उपाधि भिडन्तमा स्पेनसँग पराजित भएको थियो ।

अतिरिक्त समयमा स्पेन १-० गोलले विजयी भएपछि नेदरल्यान्ड्स तेस्रोपटक फाइनलमा निराश भएको थियो । सन् २०१४ को विश्वकपमा पनि सेमिफाइनलसम्म पुगेर उसले फाइनल यात्रा तय गर्न सकेको थिएन । टाइब्रेकरमा विजयी हुँदै अर्जेन्टिना फाइनल पुगेको थियो । सन् २०१८ को विश्वकपमा भने नेदरल्यान्ड्स छनोट हुन सकेको थिएन । विश्वकपमा फाइनल पुगेर उपाधि जित्न नसक्ने ५ टोलीमध्ये नेदरल्यान्ड्स पनि रहेको छ ।

हंगेरी र चेक गणतन्त्र दुई-दुईपटक फाइनल पुगेर उपाधि जित्न असफल भएका थिए । स्वीडेन सन् १९५८ र क्रोएसिया सन् २०१८ मा फाइनल पुगेर उपाधि नजित्ने बाँकी दुई टोली हुन् । विश्वकप जितेका ८ टोलीमध्ये ब्राजिल दुईपटक, जर्मनी ४ पटक, इटाली दुईपटक, अर्जेन्टिना तीनपटक र फ्रान्स एकपटक फाइनलमा पराजित भएको इतिहास छ ।

नेदरल्यान्ड्स विश्वकपमा हालसम्म १० पटक सहभागी भएकामा एकपटक पनि समूहगत चरणबाट बाहिरिएको छैन । सन् १९३४ र १९३८ मा प्रिक्वाटरफाइनलबाट बाहिरिएको डच टोली त्यसयता ३६ वर्षपछि सन् १९७४ को विश्वकपमा मात्र छनोट हुन सफल भएको थियो । करिब चार दशकपछिको पुनरागमनमा नेदरल्यान्ड्सले फाइनल यात्रा तय गरेपनि उपाधि जित्न भने सकेन । लगातार दुई संस्करणमा फाइनलमा पुगेर पराजित भएको नेदरल्यान्ड्स फेरी सन् १९८२ र १९८६ को विश्वकपमा छनोट हुन सकेन । सन् १९९० मा प्रिक्वाटरफाइनल र १९९४ मा क्वाटरफाइनल पुगेको डच टोली सन् १९९८ को विश्वकपमा भने सेमिफाइनलसम्म पुगेको थियो । त्यतिबेला ब्राजिलले टाइब्रेकरमा पराजित गर्दै फाइनल पुगेको थियो । त्यसयता सन् २००२ को विश्वकपमा छनोट हुन सकेन भने सन् २००६ मा प्रिक्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

नेदरल्यान्ड्सले पछिल्लो सिनियर अन्तर्राष्ट्रिय उपाधिका रूपमा सन् १९८८ मा युरोकप जितेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेदरल्यान्ड्सले जितेको त्यही एकमात्र उपाधि हो । रोबिन भान पर्सी, वेस्ली स्नाइडर, आर्यन रोबेन, डिर्क क्युटजस्ता विश्व चर्चित खेलाडीहरू डच टोलीबाट पछिल्ला वर्षहरूमा बिदा भइसकेका छन् तर मेम्फिस डिपे, भर्जिल भान डिज्क, फ्रान्की डी यङ, जर्जिनियो विज्नाल्डमजस्ता खेलाडीहरू डचले विपक्षीलाई चेतावनी दिन सक्ने नामहरू रहेका छन् ।

नेदरल्यान्ड्सले आसन्न विश्वकपको समूहगत चरणमा सेनेगल, इक्वेडर र कतारसँग खेल्दैछ । तुलानात्मकरूपमा नेदरल्यान्ड्स सहज समूहमा रहेको छ । नेदरल्यान्ड्सले १५ खेलयता हार ब्यहोरेको छैन । यसबीचमा बेल्जियम, पोल्यान्ड, वेल्स, डेनमार्कजस्ता टोलीलाई हराएको छ भने जर्मनीसँग बराबरी खेलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर