निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न निर्वाचन अयोगको गृह मन्त्रालयलाई निर्देशन – Nepal Press

निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न निर्वाचन अयोगको गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण बनाउन निर्देशन दिएको हो ।

साथै आयोगले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न पनि निर्देशन दिएको आयोगका प्रवक्ता एवम् सहायक प्रवक्ता कमराज भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षबीच विवाद भई सवारी साधन तोडफोड भएको घटनाप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाउदै यस्तो निर्देशन दिएको हो । सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड ख बमोजिम स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला नगर्न नपाइने व्यवस्था छ । सोही दफाको खण्ड च बमोजिम एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नपाइने व्यवस्था छ ।

त्यस्तो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गरी आपसी विवाद वा द्वन्द्वको अवस्था सृजना नगर्न पनि आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर