उम्मेदवारका सबै क्रियाकलाप र निर्वाचन खर्चबारे आयोगले हरेक दिन अनुगमन गर्ने – Nepal Press

उम्मेदवारका सबै क्रियाकलाप र निर्वाचन खर्चबारे आयोगले हरेक दिन अनुगमन गर्ने

मौन अवधिदेखि मतगणनासम्म मदिरा बेखविखन तथा सेवन गर्न नपाइने

काठमाडौं । निर्वाचन हुने मिति आउन एक साता मात्रै बाँकी रहँदा निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा गरे नगरेका सबै क्रियाकलाप र निर्वाचन खर्चको हरेक दिन सुक्ष्म अनुगमन गर्ने भएको छ ।

राजनीतिक दल र उम्मेदवारले खर्च गर्दा आयोगले तोकेको सीमा भित्र रही खर्च गरे नगरेको विषयमा सूक्ष्म अनुगमन गरी प्रत्येक दिन साँझ सात बजे भित्र पठाउन निर्वाचन आयोगले मातहतका कार्यालयलाई निर्देशन दिएको हो ।

प्रतिवेदन छिटो माध्यमबाट जिल्लास्थित कार्यालयमा र जिल्लास्थित कार्यालयले आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्रतिवेदन पठाउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा रहेको आचारसंहिता अनुगमन समितिको आइतबार बसेको आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेल पनि सहभागि थिए ।

बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधि (मतदान शुरु हुने दिन भन्दा ४८ घण्टा अघि देखि मतगणनाको काम पूरा नभएसम्म) मा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रचलित कानून बमोजिम जफत गर्नुपर्ने भए जफत गर्नसमेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय भएको छ ।

आयोगले आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार वा राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको पाइएमा निगरानी राखेर तत्का जानकारी गराउन पनि निर्णयात्मक निर्देशन दिएको छ ।

जसमा कुनै पनि उम्मेदवार वा राजनीतिक दलले भोजभतेर गरेको, हातहतियार वा निषेधित पदार्थ लिई हिंडेको, शान्ति भङ्ग गर्ने कुनै कार्य गरेको, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कुनै कार्य गरेको वा गर्न लगाएको, कसैलाई डर त्रास, धाक धम्की प्रलोभन दिने जस्‍ता कार्य गरेको लगायतका क्रियाकलाप भए गरेको पाइएमा निगरानी राखी तत्काल जानकारी गराउने भनेको हो ।

यदि कारबाही गर्नुपर्ने विषयमा तत्काल कारबाही सुरु गर्न जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र अनुगमन अधिकृतलाई निर्देशन दिने दिने निर्णय पनि गरेको छ ।

आयोगले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई अहिलेसम्म सम्म प्राप्त भएको आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी र त्यसको सम्बन्धमा सोधेको स्पष्टीकरण, अहिलेसम्म भएको उजुरीको फर्छयौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण ३ दिनभित्र आयोगको आचारसंहिता अनुगमन समिति वा आयोगमा पठाउन निर्देशन दिएको छ ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) बमोजिम तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने विषयमा पनि राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराई उक्त व्यवस्थाको पूर्ण पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ पालना गर्नुपर्ने दायित्व भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अन्तर्गतका निकायमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी, शिक्षकलगायत निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिता विपरितको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारवाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर