इङ्गल्यान्डलाई २९ बलमा ४० रन चाहिएको बेला जब अफ्रिदी बलिङ गर्नै नसक्ने भए – Nepal Press

इङ्गल्यान्डलाई २९ बलमा ४० रन चाहिएको बेला जब अफ्रिदी बलिङ गर्नै नसक्ने भए

मेलबर्न। अस्ट्रेलियामा आइतबार साँझ सम्पन्न आईसीसी टी-२० विश्वकपको फाइनलमा सामान्य लक्ष्य दिएर पनि इङ्गल्यान्डविरुद्ध पाकिस्तानलाई खेलमा फर्काउने प्रयास गरिरहेका बलर थिए साहिन शाह अफ्रिदी । तर अफ्रिदीले करिब दुई ओभर खेल्नै नसक्ने भएपछि इङ्गल्यान्डले सहज जित हात पार्‍यो ।

इङ्गल्यान्डलाई ३० बलमा ४० रन चाहिएको थियो र क्रिजमा ३५ बलमा २८ रन जोडेर खेल्दै थिए बेन स्टोक्स । मोइन अली ४ बलमा ३ रन बनाएर क्रिजमा थिए।

यस्तो अवस्थामा पाकिस्तानी कप्तान बाबर आजमले साहिन शाह अफ्रिदीलाई १६ औँ ओभर बलिङ गर्ने जिम्मा दिएका थिए। पाकिस्तानलाई खेलमा फर्काउन सक्ने खेलाडी थिए, अफ्रिदी।

उनले सुरुका दुई ओभरमा १२ रन खर्चिएर एक विकेट हात पारेका थिए। तर १३ औँ ‌ओभरको तेस्रो बलमा ह्यारी ब्रुकको क्याच लिनेक्रममा बाउन्ड्री छेउमा लड्दा घाइते भएपछि अफ्रिदी खेलमा फेरी फर्कने नफर्कने निश्चित थिएन। जबर्जस्ती उनी मैदान छिरेका थिए।

१६ औँ ओ‌भरको पहिलो बलमा उनले कुनै रन दिएनन् तर दौडिँदा उनी फेरी बलिङ गर्न नसक्ने गरी मैदान छाड्न बाध्य भए। ओभरका बाँकी बल बलिङ गरेका इफ्तिखर अहमदले १३ रन दिए।

१७ औँ ओभरमा १६ रन खर्चिए भने १८ औँ ओभरमा ह्यारिस रौफले ५ रन मात्र दिएपनि इङ्गल्यान्ड जितको औपचारिकता मात्र पुरा गर्दै थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर