इङ्गल्यान्ड बन्यो टी-२० विश्व च्याम्पियन – Nepal Press

इङ्गल्यान्ड बन्यो टी-२० विश्व च्याम्पियन

मेलबर्न। इङ्गल्यान्डले अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा इङ्गल्यान्डले पाकिस्तानलाई ५ विकेटले हरायो।

पहिला ब्याटिङ गरेको पाकिस्तानलाई एक सय ३७ रनमा समेट्दै इङ्गल्यान्डको जितको आधार सहज बनाएको थियो। त्यसपछि इङ्गल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

इङ्गल्यान्डको जितमा बेन स्टोक्सले अविजित ५१ र कप्तान जोस बटलरले २६ रन जोडे। मोइन अलीले १९ र ह्यारी ब्रुकले २० रन बनाए।

इङ्गल्यान्डले ४५ रन जोड्दा तीन विकेट गुमाएको अवस्थामा स्टोक्सले सम्हालिएर खेले। उनले चौथो विकेटका लागि ह्यारी ब्रुकसँग ३९ र पाँचौँ विकेटका लागि मोइन अलीसँग ४६ रनको साझेदारी गरे।

त्यसअघि टस हारेपछि ब्याटिङको जिम्मा पाएको पाकिस्तानले निर्धारित २० ओभरमा एक सय ३७ रन जोडेको थियो।

इङ्गल्यान्डका साम करनले ३ तथा अदिल रसिद र क्रिस जोर्डनले दुई दुई विकेट हात पारे। चार ओभरमा करनले १२ र रसिदले २२ रन खर्चिएका थिए। जोर्डनले पनि २७ रन मात्र दिए।

इङ्गल्यान्डले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। यसअघि सन् २०१० मा उसले उपाधि जितेको थियो।

हालसम्म इङ्गल्यान्डबाहेक वेस्ट इन्डिजले मात्र दुईपटक टी-२० विश्वकप जितेको छ।

१३ वर्षपछि फाइनल पुगेको पाकिस्तान कमजोर ब्याटिङपछि उप-विजेतामा सीमित बनेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर