सञ्चारमन्त्री कार्कीविरूद्ध आयोगमा उजुरी, सरकारी स्रोतको दुरुपयोग र भोजभतेर गरेको आरोप – Nepal Press

सञ्चारमन्त्री कार्कीविरूद्ध आयोगमा उजुरी, सरकारी स्रोतको दुरुपयोग र भोजभतेर गरेको आरोप

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी परेको छ । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार रहेका कार्कीले सरकारी सञ्चारमाध्यम दुरुपयोग गरेको भन्दै उजुरी परेको हो ।

नेकपा एमाले निर्वाचन परिचाल कमिटीका संयोजक सरोज पोखरेलले निर्वाचन आचारसंहिताको उलंघन गरी स्थानीय प्रशासन र सुरक्षा निकायको गलत प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारी समक्ष उजुरी हालेका हुन् ।

उनले दिएको उजुरीमा कार्कीले २०७९ कार्तिक १७ गतेदेखि दैनिक रूपमा सयौँ सुरक्षाकर्मीलाई साथमा राखेर वडा टोल तहमा मानिसहरूसँग भेट्न जाने ३० देखि ४० वटासम्म चार चक्के सवारी साधन र सयौँ मोटरसाइकलहरुको लावा लस्कर सहितको र्‍याली लैजाने गरेको उल्लेख छ । यस्तै उजुरीमा भोजभतेर गर्ने, आचारसंहिता विपरीत राष्ट्रिय झण्डाको प्रयोग गरेको उल्लेख छ ।

उजुरीमा निर्वाचन सम्पर्क कार्यालय बाहेकका हरेक वडाका सयौँ स्थानमा फ्लेक्स व्यानर झुन्डाउने, चौक र विद्युतका पोलमा चुनाव चिन्ह भएको झण्डा लगाउने गरेको उल्लेख छ ।

यस्तै सरकारी सञ्चारमाध्यमको प्रयोग गरी झुटा चुनावी आश्वासन र विकासका योजनाहरू डिजिटल श्रव्य दृश्य मार्फत देखाउने गरेको उजुरीमा दाबी गरिएको छ ।

उजुरीमा मन्त्री कार्कीले स्थानीय तहमा निर्वाचित नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरुलाई चुनाव प्रचार र घरदैलोमा परिचालन गरी सवारीसाधनको समेत दुरुपयोग गरेको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर