टी-२० विश्वकप फाइनलः यी हुन् खेल बदल्न सक्ने ६ खेलाडी – Nepal Press

टी-२० विश्वकप फाइनलः यी हुन् खेल बदल्न सक्ने ६ खेलाडी

काठमाडौं । अष्ट्रेलियामा जारी टी-२० विश्वकपको फाइनलमा आज पाकिस्तान र ईंग्ल्यान्ड भिड्दैछन् । आ-आफ्ना विशेषताहरूले सुसज्जित दुई टीमबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा क्रिकेटप्रेमीहरूको छ ।

यस विश्वकपअघि नै ईंग्ल्यान्डलाई उपाधिको एक दाबेदार मानिएको थियो । तर, पाकिस्तानको यात्रा फाइनलसम्म पुग्ने अपेक्षा थिएन । सुपर १२ मा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई मात दिएपछि प्रतियोगितामा ट्वीस्ट आयो । आउट हुने संघारमा पुगेको पाकिस्तानको सेमिफाइनलको ढोका खुल्यो । अनि, सेमिफाइनलमा न्यूजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शनसहित पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

अर्कोतर्फ ईंग्ल्यान्डले सुपर १२ मा आयरल्यान्डविरुद्ध स्तब्ध हार व्यहोर्‍यो । त्यसबाहेकका खेलमा उसले आफ्नो उत्कृष्टता साबित गर्दै फाइनलसम्म स्थान बनाएको छ । खासगरि सेमिफाइलमा भारतविरुद्धको प्रभावशाली जितले फाइनलमा ईंग्ल्यान्डको आत्मविश्वास बुलन्द बनेको छ ।

धेरै क्रिकेट पण्डितहरूले आजको म्याचलाई पाकिस्तानको बलिङविरुद्ध ईंग्ल्यान्डको ब्याटिङका रूपमा लिएका छन् । पाकिस्तान बलिङमा परम्परागतरूपले नै बलियो मानिन्छ । यस विश्वकपमा पनि पाकिस्तानका फास्ट तथा स्पिन बलरहरूले शानदार प्रदर्शन गरिरहेका छन् ।

यता, ईंग्ल्यान्डको वर्तमान टीम ब्याटिङका लागि कहलिएको छ । टीममा एकसेएक विष्फोटक व्याट्सम्यानहरूको पंति छ, जसलाई रोक्न जस्तोसुकै बलरहरूलाई पनि हम्मे पर्न सक्छ । ईंग्ल्यान्डसँग ८-९ नम्बरसम्म आक्रमक ब्याट्सम्यानहरू छन् । जबकि पाकिस्तानका ब्याट्सम्यानहरूसँग त्यस्तो आक्रामकता छैन । ब्याटिङकै कारण आजको फाइनलमा पाकिस्तानभन्दा ईंग्ल्यान्डलाई बलियो मानिएको छ ।

अब चर्चा गरौं दुवै टीमका केही खेलाडीहरूको, जो आजको म्याचमा निर्णायक बन्न सक्छन् ।

पाकिस्तान

१. साइन साह अफ्रिदी

पाकिस्तानका मुख्य स्ट्राइक बलर हुन् साइन साह अफ्रिदी । विश्वकै उत्कृष्ट फास्ट बलरहरूको सूचीमा पर्ने उनले पछिल्ला तीन म्याचमा शानदार प्रदर्शन गरेका छन् । ५ खेलमा १० विकेट लिइसकेका अफ्रिदीको फाइनलमा पनि जादू चलेको खण्डमा पाकिस्तानले उपाधिमा कब्जा जमाउन सक्छ ।

पाकिस्तानलाई सेमिफाइनलमा पुर्‍याउनका लागि निर्णायक बंगलादेशविरुद्धको म्याचमा अफ्रिदीले ४ विकेट लिँदै म्याच अफ दि म्याच बनेका थिए । सेमिफाइनलमा पनि न्यूजिल्यान्डविरुद्ध उनले महत्वपूर्ण दुई विकेट लिए । सुरूका दुई खेलमा असफल बनेका अफ्रिदी त्यसपछिका खेलहरूमा भने आफ्नो उत्कृष्टतामा फर्केका छन् । उनको फर्म ईंग्ल्यान्डका लागि खतराको घण्टी हो ।

२. सदाब खान

स्पिन बलर सदाब खान पछिल्लो समय पाकिस्तानका लागि अलराउन्डरका रूपमा स्थापित हुन खोजिरहेका छन् । यस विश्वकपमा उनको बलिङमात्र नभएर ब्याटिङ पनि राम्रो लयमा छ । दक्षिण अफ्रिकाविरुद्ध महत्वपूर्ण जित दिलाउन सदाबले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सो म्याचमा उनले २२ बलमै अर्धसतक बनाए भने दक्षिण अफ्रिकाका २ विकेट लिए । आक्रामक ब्याट्सम्यानको खडेरी रहेको पाकिस्तानका लागि सदाबको ब्याटिङले त्राण दिएको छ ।

३. मोहम्मद ह्यारिस

यतिबेला सर्वाधिक चर्चा गरिएका पाकिस्तानी खेलाडी हुन् मोहम्मद ह्यारिस । उनको इन्ट्रीले पाकिस्तानी टिममा ऊर्जा थपिएको छ । यी युवा ब्याट्सम्यान आक्रमक शैलीका लागि चिनिन्छन् ।

पाकिस्तानसँग दुई उत्कृष्ट ओपनरका रूपमा मोहम्मद रिजवान र बबर आजम छन् । तर, उनीहरू दुवैमाथि सुस्त ब्याटिङ गरेर टिमलाई दबाबमा पार्ने गरेको आरोप छ । यद्यपि, ओपनरहरूले नै पाकिस्तानलाई आजका दिनसम्म धेरै म्याच जिताइरहेका छन् । तेस्रो नम्बरमा ह्यारिसको प्रदेशले पाकिस्तानको रन गति बढाउन मद्दत गरेको छ ।

ह्यारिसले पाकिस्तानका लागि पछिल्ला तीन म्याच खेलेका छन् र तीनवटै म्याचमा प्रभाव छोड्न सफल भए । उनीसँग ठूला सट गर्ने क्षमता छ ।

इङग्ल्यान्डः

१. जोस बटलर

ईंग्ल्यान्डका कप्तान जोस बटलर अहिलेका सर्वाधिक खतरनाक ओपनरका रूपमा चिनिन्छन् । यी विकेटकिपर ब्याट्सम्यानमा केही बेर क्रिजमा अडिए भने पनि विपक्षी टीमको हातबाट खेल फुत्किन सक्छ । फाइनलमा ईंग्ल्यान्डले सबैभन्दा बढी आशा उनीबाट नै राख्नेछ ।

भारतविरुद्धको सेमिफाइनलमा बटलरले अर्धशतकीय पारी खेले । अर्का ओपनर एलेक्स हेल्स पनि उच्च फर्ममा रहेकाले यो ओपनिङ जोडी पाकिस्तानका निम्ति टाउको दुखाइ हुने पक्का छ ।

२. साम कुरान

ईंग्ल्यान्डका लोअर अर्डर ब्याट्सम्यान तथा बलर हुन् साम कुरान । यस विश्वकपमा उनको बलिङ ईंग्ल्यान्डका लागि निकै प्रभावकारी बनिरहेको छ । उनले १० म्याचमा १३६ रन मात्र खर्चेर १० विकेट लिइसकेका छन् । टीममा मार्क उड, क्रिस वक्स, डेविड विल्लीजस्ता बलरहरूलाई पछि पार्दै उनी ईंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर हुन् । साथै, तल्लो क्रममा उनको ब्याटिङ पनि टिमका लागि उपयोगी बन्न सक्छ ।

३. बेन स्टोक्स

ईंग्ल्यान्डका सबैभन्दा सफल अलराउन्डर बेन स्टोक्स भने केही समयदेखि आफ्नो फर्मका लागि संघर्ष गरिरहेका छन् । विश्वकप फाइनल उनका निम्ति महत्वपूर्ण क्षण बन्न सक्छ । उनी बलिङ र ब्याटिङ दुवैमा अब्बल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर