विनोद चौधरीलाई जिताउन असन्तुष्ट माओवादीले गरे सार्वजनिक प्रतिबद्धता – Nepal Press

विनोद चौधरीलाई जिताउन असन्तुष्ट माओवादीले गरे सार्वजनिक प्रतिबद्धता

रुपन्देही । पश्चिम नवलपरासीमा सत्ता गठबन्धनमा भएका आन्तरिक विवाद मिलाउन नेपाली काङ्ग्रेसबाट क्षेत्र नं १ का उम्मेदवार बनेका विनोद चौधरी दिनहुँ लागेका छन् ।

जिल्लामा नेपाली काङ्ग्रेसबाट उनले टिकट पाएपछि काँग्रेसभित्रै असन्तुष्टि चुलिएको थियो भने भागबन्डा नमिलेका कारण नेकपा माओवादी र नेकपा एस तथा लोसपाले पनि अलग अलग क्षेत्रमा उम्मेदवारी दिएका थिए ।

काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अर्बपति उद्योगी चौधरीले आफ्नो दलभित्र मात्रै होइन गठबन्धन दलमा भएका विवाद क्रमशः मिलाउन थालेका छन् ।

उम्मेदवारी दर्तापछि काँग्रेसबाटै प्रतिनिधि सभामा आकाङ्क्षी रहेकाहरू उनको प्रचारमा नदेखिएपछि अहिले क्रमशः त्यो समस्या समाधान गरिसकेका छन् चौधरीले ।

यसअघि माओवादीको तर्फबाट बागी उम्मेदवार दिएकाले पनि चौधरीको पहलमा उम्मेदवारी निष्क्रिय पारेका छन् भने शनिवार माओवादी नेताहरूले सामूहिक विज्ञप्ति जारी गरेर केन्द्रको निर्णयअनुसार जिल्लामा गठबन्धन बलियो बनाउने र साझा उम्मेदवार विनोद चौधरीलाई जिताउने गरी एकजुट हुने निर्णय सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा माओवादीका जिल्ला इन्चार्ज घनश्याम यादव, केन्द्रीय सदस्य राजु हरिजन, प्रदेश सदस्य सुभान अली अन्सारी, जिल्ला सचिव ध्रुवनाथ पाण्डे र इन्चार्ज भीमसेन थापाले हस्ताक्षर गरेका छन् ।

भागबन्डा नमिलेपछि असन्तुष्ट समूहको विवाद मिल्दे गएको कांग्रेस नेताहरूको दाबी छ । यो क्षेत्रबाट तीन दशकयता निरन्तर लड्दै आएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई एमालेले समर्थन गरेपछि चौधरीलाई चुनौती थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर