विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई लागेको ‘ब्रेक’ – Nepal Press

विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई लागेको ‘ब्रेक’

काठमाडौं । न्युजिल्यान्ड पहिलो पटक विश्व च्याम्पियन बन्ने अभियानमा फेरि ब्रेक लागेको छ। अस्ट्रेलियामा जारी टी-२० विश्वकपको सेमिफाइनलमा पाकिस्तानसँग पराजित भएपछि न्युजिल्यान्डको विश्व च्याम्पियनको सपना तत्काल पुरा नहुने भएको हो।

न्युजिल्यान्ड गत वर्ष आयोजित पछिल्लो संस्करणमा फाइनलसम्म पुगेको थियो। टी-२० विश्वकपमा न्युजिल्यान्डको त्यो पहिलो फाइनल यात्रा थियो। तर अस्ट्रेलियाविरुद्ध एक सय ७३ रनको लक्ष्य दिएर पनि न्युजिल्यान्डले जोगाउन सकेको थिएन र उप-विजेतामै सीमित भएको थियो।

कप्तान केन विलियमसनले ८५ रनको पाली खेलेपनि टोलीलाई जिताउन सकेनन्। त्यसअघि सन् २००७ मा आयोजना भएको पहिलो टी-२० विश्वकपमा सेमिफाइनल पुगेको न्युजिल्यान्ड फाइनल पुग्ने प्रतिस्पर्धामा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो।

त्यसपछि सन् २०१६ अघि आयोजना भएका चार संस्करणमा सेमिफाइनल पुग्न सकेन। सन् २०१६ मा भएको संस्करणमा सेमिफाइनल पुगे पनि इङ्गल्यान्डसँग पराजित भयो। त्यसपछि अर्को संस्करण आयोजना हुन ५ वर्ष लागेको थियो।

गत वर्ष आयोजना भएको विश्वकपमा इङ्गल्यान्डलाई नै पराजित गरेर न्युजिल्यान्ड फाइनल पुगेको थियो। विश्वकप क्रिकेटमा न्युजिल्यान्ड अभागी टोली मानिन्छ। एकदिवशीय विश्वकपका पछिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न सकेन।

सन् २०१५ मा आयोजना भएको संस्करणमा पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड त्यतिबेला उपाधि भिडन्तमा अस्ट्रेलियासँग पराजित भएको थियो। त्यसपछि सन् २०१९ मा आयोजना भएको संस्करणमा इङ्गल्यान्डसँग नाटकीय हार ब्यहोरेर उप-विजेतामा सीमित बनेको थियो। कप्तान विलियमसन न्युजिल्यान्ड टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्।

उनले न्युजिल्यान्डका लागि ३ एकदिवशीय विश्वकप र चार वटा टी-२० विश्वकप खेलेका छन्। उनले टेस्टमा २४ शतक र ३३ अर्धशतक, एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३ शतक र ३९ अर्धशतक र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५ अर्धशतक बनाएका छन्।

बुधवार पाकिस्तानविरुद्ध एक सय ५२ रन बनाएको खेलमा ३२ वर्षीय विलियमसनले ४६ रन बनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर