गोरखामा एमालेलाई सहयोग गरेपछि बाबुरामनिकट मन्त्री हटाइँदै – Nepal Press

गोरखामा एमालेलाई सहयोग गरेपछि बाबुरामनिकट मन्त्री हटाइँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा एमालेलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्तीको तयारी गरेका छन् ।

गोरखा २ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएपछि उनलाई हटाउने तयारी गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।

‘उहाँले गोरखामा एमालेलाई सहयोग गरेको जानकारी आएको छ, त्यसैले हटाउन लागिएको हो,’ स्रोतले भन्यो ।

मुख्यमन्त्री पोखरेल अहिले गृहजिल्ला नवलपुरबाट पोखरा आउँदै छन् । पोखरेल पोखरा आएपछि प्रदेश प्रमुखलाई मन्त्री बर्खास्त गरेको पत्र दिइने बताइएको छ ।

मन्त्री आचार्य भने अहिलेसम्म आफूलाई हटाउन लागिएको कुनै संकेत नपाएको बताउँछन् । आरोप लगाइए जसरी आफूले सत्ता गठबन्धन र नेकपा एमाले कसैका लागि पनि मत नमागेको उनको भनाइ छ । असोज २१ बाट आफू स्वतन्त्र भइसकेको उनले दाबी गरे ।

‘मैले बाबुराम भट्टराईलाई खबर गरिसकेँ, म २१ गतेबाटै स्वतन्त्र भइसकेँ । कसैको चाकडी गरेर पदमा बस्नु छैन,’ उनले भने, ‘मैले सत्तापक्ष र नेकपा एमाले कसैका लागि पनि एक मत मागेको छैन ।’

गोरखा २ (२) मा अघिल्लो पटक निर्वाचित भएका आचार्यले अहिले सो क्षेत्रबाट टिकट पाएनन् । सो ठाउँमै उनले स्वतन्त्र उम्मेदवारी दिएपनि पछि फिर्ता लिएका थिए । अहिले गोरखा २ (२) मा नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा उठेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर