प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै लोसपाका महन्थ ठाकुरसहित नेताहरुलाई स्पष्टीकरण – Nepal Press

प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै लोसपाका महन्थ ठाकुरसहित नेताहरुलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य महोत्तरी क्षेत्र नं. ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले)को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं ३ प्रदेश सभा २ का उम्मेदवार हुकुम बहादुर बस्नेत तथा प्रतिनिधिसभा सदस्य झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पनि स्पष्टिकरण सोधेको छ ।

ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अंकित पम्प्लेट लिई वितरण गर्न हिडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको, तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्यदृश्य सामग्रीसमेत संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको जनाइएको छ ।

जसपाका नेता मोहम्मद इस्तियाक राईलाई स्पष्टीकरण

यस्तै, आयोगले जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई पनि स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

धम्की दिने काँग्रेसका उम्मेदवार रिजाललाई पनि स्पष्टीकरण

आयोगले पर्साको निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाललाई पनि सपष्टीकरण सोधेको छ । उनले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको भन्दै स्पष्टीकरण सोधेको हो । आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयमा रिजालले कार्कीलाई धम्की दिएको विषयमा आयोगमा लिखित उजुरी परेको थियो ।

विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण

आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै स्पष्टीकरण सोधेको छ । सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधेको हो ।

अनुसन्धान विभागका सहायक सूचक आचार्यलाई कारबाही गर्न पत्र

यसैविच आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको भन्दै आवश्यक कारबाहीका लागि विभागलाई पत्राचार गरेको छ ।

‘प्रचलित सेवा शर्त सम्बन्धी कानून बमोजिम अनुसन्धान तथा कारबाही गरी निर्वाचन आयोग ऐन, २०७९ को दफा ४४ को उपदफा ३ बमोजिम तीन महिनाभित्र निजलाई भएको कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराउन निर्णयानुसार अनुरोध छ । आयोगको पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया

One thought on “प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै लोसपाका महन्थ ठाकुरसहित नेताहरुलाई स्पष्टीकरण

  1. भोट हाल्ने उमेर पुगेकाले नपत्याए पछि यस्तै हो । चुच्चे नक्सामा सहि गरेपछि गुरूले पनि छोडिदिए । विचरा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर