समृद्धि फाइनान्स नेशनल भेट्रान चेस च्याम्पियनसिपको उपाधि बद्रीलाललाई – Nepal Press

समृद्धि फाइनान्स नेशनल भेट्रान चेस च्याम्पियनसिपको उपाधि बद्रीलाललाई

काठमाडौं। पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौँ नेशनल सिनियर ‍(भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् ।

पाँचौँ चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैटौँ चरणमा हराउन सफल भएका बद्रीलालले सातौँ चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतिजा निकालेका थिए।

तीन पटकका राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समूहमा पहिलो उपाधि हो । समग्रमा ५ दशमलव ५ अंक जोडेका बद्रीलालले बुकोल्स टाईब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार रुपैयाँ प्राप्त गरे।

नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा समान ५ दशमलव ५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहे।

पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले छैटौँ चरणमा रुपन्देहीका विजय गुरुङ र सातौँ चरणमा नवीन तण्डुकारलाई पराजित गरेका थिए। उनले ३० हजार रुपैयाँ पाए । त्यसै गरी अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले छैटौँ चरणमा मोरङका भरत धिमाल र सातौँ चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । उनलाई २० हजार रुपैयाँ प्रदान गरियो।

सोमबारका दुबै खेल गुमाएपछि पूर्व राष्ट्रिय च्याम्पियन नवीन तण्डुकार चौथो स्थानमा सीमित रहे। उनले १५ हजार रुपैयाँ हात पारे । पाँचाैँ स्थानमा रहेका भक्तपुरका बलराम नापितलाई १० हजार रुपैयाँ दिइयो ।

त्यसै गरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैटौँ तथा सातौँ स्थानमा रहँदै उनीहरूलाई जनही सात हजार रुपैयाँ प्रदान गरियो । काठमाडौंका क्यानिडडेट मास्टर भगवती प्रसाद शर्मा, काठमाडौँकै पुराना खेलाडी सिताराम अग्रवाल तथा बाँकेका तीर्थबहादुर विक क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहे। उनीहरूले पनि जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

भक्तपुरका गणेशमान दुवाल ६० वर्षमाथि, ज्ञानेन्द्रप्रसाद श्रेष्ठ ६५ वर्षमाथि र सर्लाहीका लवकुमार श्रेष्ठ ७० वर्ष माथिको उमेर समूहमा पहिलो भए। उनीहरूलाई जनही ५ हजार रुपैयाँ प्रदान गरियो। चार जना पूर्व राष्ट्रिय च्याम्पियन सहित देशभरका ३४ जना खेलाडी प्रतियोगितामा सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर