पेलेको विश्वकप कीर्तिमान चुमेका एमबाप्पे – Nepal Press
विश्वकप फुटबल

पेलेको विश्वकप कीर्तिमान चुमेका एमबाप्पे

पेरिस । उनी जब दौडन्छन्, विपक्षी रक्षापंक्तिलाई भेटाउन मुस्किल पर्छ । जब उनको खुट्टामा बल पर्छ, विपक्षीलाई खोस्न हम्मेहम्मे हुन्छ । डी-बक्सको आसपासमा एमबाप्पेसँग बल भएका वेला विपक्षी गोलरक्षक सचेत हुन्छन् । किनभने यी फ्रेन्च स्ट्राइकर जुन भागबाट पनि गोल गर्न सक्ने सामर्थ्य राख्छन् । यो कुशलता उनले किशोर समयबाटै देखाएका थिए ।

१६ वर्षकै उमेरमा प्रिमियर क्लबबाट सानदार प्रदर्शन गरेका उनी त्यति वेला विश्वका एकसेएक क्लबको नजरमा परे । सन् २०१६/१७ सिजन मोनाकोले फ्रेन्च लिग जितेपछि विश्वका उत्कृष्ट खेलाडीहरुलाई जम्मा गरिरहेको पेरिस सेन्ट जर्मन (पीएसजी)ले तत्कालै कदम चाल्यो- एमबाप्पे भित्र्याउन । एमबाप्पेले त्यस सिजन ४४ खेलमा २६ गोल गरेका थिए, घरेलु लिगमा १५ सहित ।

सन् २०१७/१८ सिजनबीचमै एमबाप्पे पीएसजी भित्रिएका थिए लोनमा । सन् २०१८ मा उनी विश्व कीर्तिमानी रकममा पीएसजीमा आबद्ध भए । त्यति वेला १८० मिलियन पाउन्डमा पीएसजीले भित्र्याएका उनी विश्वका दोस्रो सर्वाधिक महँगा फुटबलर बने भने सर्वाधिक महँगा किशोर फुटबलर भए । सन् २०१७ का लागि एमबाप्पेले गोल्डेन ब्वाई अवार्ड पाएपछि एमबाप्पेको उचाइ थप बढ्यो ।

युरोपका शीर्ष लिगमा खेलिरहेका २१ वर्षमुनिका सर्वोत्कृष्ट खेलाडीलाई दिइने यो अवार्ड विगतमा लियोनल मेस्सी, वेन रोनी, सर्जियो एगुएरो, मारियो बालोटेली, पल पोग्बाले पाएका थिए । पछिल्ला वर्षहरुमा एर्लिङ हालान्ड र पेड्रिलाई दिइएको छ ।

सन् २०१८ को रुस विश्वकपले एमबाप्पेलाई विश्व फुटबलमा नयाँ उचाइ दियो । उनले समूहगत चरणमा पेरुविरुद्ध एकमात्र निर्णायक गोल, प्रि-क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध २ गोल र फाइनलमा क्रोएसियाविरुद्ध १ गोल गरेका थिए । उनी विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिको पहिलो किशोर  खेलाडी बने । त्यतिमात्र होइन उनी पेलेपछि विश्वकपको फाइनलमा गोल गरेर उपाधि जित्ने पनि पहिलो किशोर खेलाडी भए ।

उनलाई त्यस विश्वकपमा सर्वाेत्कृष्ट युवा खेलाडीको अवार्ड दिइयो । विश्वकपकै प्रदर्शनका आधारमा एमबाप्पे फ्रान्सका वर्ष फुटबलर पनि भए । त्यस सिजन एमबाप्पेले क्लबका लागि ४३ खेलमा ३९ गोल गरेका थिए । त्यस वर्षको फिफा वर्ष खेलाडी भने क्रोएसियाका प्ले मेकर लुका मोड्रिचले जितेका थिए । त्यस सिजन युरोपियन च्याम्पियन्स लिग जितेका मोड्रिचकै प्रदर्शनमा कोएसिया फाइनलसम्म पुगेको थियो ।

विश्वकप विजेताका खेलाडीलाई फिफा वर्ष खेलाडी अवार्ड नदिइएको त्यो पहिलोपटक भने थिएन । सन् २०१४ को विश्वकप जर्मनीले जित्यो । त्यस वेला पनि फिफा वर्ष खेलाडी अवार्ड जर्मन खेलाडीलाई दिइएन । च्याम्पियन्स लिग जितेका पोर्चुगिज क्रिस्टियानो रोनाल्डोलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

सन् २०१० मा पनि विश्वकप जित्ने खेलाडीले फिफा वर्ष खेलाडी अवार्ड पाएनन् । अर्जेन्टिनाका लियोनल मेस्सीले उक्त अवार्ड पाएका थिए । विश्वकप विजेताका रुपमा फ्रान्सेली खेलाडीका हकमा पनि त्यस्तै भयो । घरेलु लिग पनि जितेका एमबाप्पेलाई फिफा वर्ष खेलाडी अवार्ड दिइएन ।

त्यसयता एमबाप्पेले हरेक सिजन फ्रान्सको घरेलु लिगमा सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । उनी सन् २०१९ मा फेरि फ्रान्सका वर्ष खेलाडी भए । सन् २०१९/२० सिजन एमबाप्पे आबद्ध पीएसजी च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो । गत वर्ष फ्रान्सले यूईएफए नेसन्स लिगको उपाधि जित्दा एमबाप्पेले सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुट पाएका थिए । गत सिजन उनलाई लिग वानमा गोलका लागि सबैभन्दा बढी असिस्ट गरेकोमा पनि अवार्ड दिइएको थियो ।

मेस्सी र नेमार जस्ता खेलाडीहरु टोलीमा रहेर पनि एमबाप्पे अहिले पीएसजीका ‘मोस्ट भ्यालुएभल प्लेयर’ मानिन्छन् । तर, चार वर्षअघि विश्वकपको सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका उनले हरेक वर्ष फिफाले प्रदान गर्ने वर्ष फुटबलरको अवार्ड पाउन सकेका छैनन् । पेले आफ्नो उत्तराधिकारी बन्न सक्ने क्षमता एमबाप्पेसँग रहेको बताउँछन् । ‘एमबाप्पे मेरो उत्तराधिकारी बन्न सक्छन् र म यो जिस्किरहेको छैन’, उनले ला गजेटा डेलो स्पोट्र्ससँग कुरा गर्दै भनेका थिए, ‘गतिसहित खेल्न सक्ने उसको क्षमतामा म आफूलाई भेट्टाउँछु । जब उनको खुट्टामा बल आइपुग्छ, त्यसलाई कहाँ पुर्‍याउने भन्ने उनलाई थाहा भइसकेको हुन्छ ।’

आफ्नो पुस्ताको सर्वाेत्कृष्ट युवा खेलाडी बन्न सक्ने क्षमता भएका एमबाप्पेले थप उचाइ लिन अझै धेरै सुधार गर्नुपर्ने सुझाव पेलेको छ । ‘उनी राजा भइसकेका छैनन् । तर, राजा बन्न उनको परीक्षण भइरहेको छ । त्यसका लागि उनीसामु धेरै कदमहरु बाँकी छन् । उनी युवा छन् र भर्खरै करियर सुरु भएको छ’, पेलेले सन् २०१९ मा एमबाप्पेबारे टिप्पणी गरेका थिए ।

क्यामरुनी पिता र अल्जेरियन आमाबाट जन्मिएका एमबाप्पेका लागि खेलको माहोल सानैबाट बनेको थियो । उनका पिता पनि फुटबलर थिए । आमा ह्यान्डबल खेलाडी थिइन् । सुरुका दिनमा आफ्ना बुबाबाट प्रशिक्षण लिएका एमबाप्पेलाई पछि रियल म्याड्रिड, बायर्न म्युनिख, चेल्सीजस्ता क्लबले आफ्नो युथ टीममा बोलाएका थिए । तर, उनी मोनाकोमो बसे ।

रियल म्याड्रिडबाट खेल्ने सपना बोकेका उनी क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आदर्श मान्थे । अहिले उनी रोनाल्डोविरुद्ध खेल्ने र रियल म्याड्रिडले अफर गर्ने स्तरमा पुगिसकेका छन् । सीमित खेलाडीमध्ये उनी पनि स्ट्राइकरसँगै प्ले मेकरको छवि बनाउन पनि सफल छन् । धेरैले मेस्सी र रोनाल्डो जसरी लामो समय क्लब फुटबलमा दबदबा बनाउन सक्ने खेलाडीका रुपमा एमबाप्पेलाई लिने गर्छन् । तर, २३ वर्षको उमेर भइसक्दासम्म एमबाप्पेले फिफाले प्रदान गर्ने वार्षिक अवार्डहरु जित्न सकेका छैनन् ।

केही महिनाअघि पीएसजीको खेल दौरान मेस्सीलाई हेपेको भन्दै एमबाप्पेको आलोचना भएको थियो । इङ्गल्यान्डका पूर्वस्ट्राइकर रोनीले ‘तिम्रो उमेरसम्म मेस्सीले चारपटक फिफा वर्ष खेलाडी जितेका थिए’ भन्दै एमबाप्पेलाई सम्मान गर्न सुझाव दिएका थिए । त्यसो त एमबाप्पेले आफ्नो उचाइ बढाउन इङ्गल्यान्ड, स्पेन वा इटालीका क्लबमा आबद्ध हुनुपर्ने तर्कहरु पनि सुनिन्छन् । आफ्नो व्यावसायिक खेल जीवन ब्राजिलमै बिताएका पेले पीएसजीबाटै एमबाप्पेले सफलताहरु प्राप्त गर्न सक्ने बताउँछन् ।

जे होस्, एमबाप्पेले फिफाका अवार्डहरु जित्न नसकिरहेको चाहिँ पक्का हो । यसले उनको व्यक्तिगत क्षमतामा प्रश्नहरु बढिरहनु स्वाभाविक हुन्छ । विश्वकपको सर्वोत्कृष्ट युवा खेलाडी त्यसपछि कुनै क्लबमा मात्र सीमित हुनु अपेक्षित पनि हुँदैन । विश्वकपको सन्दर्भमा सर्वाेत्कृष्ट युवा खेलाडीहरुले भविष्यमा टीम उपाधि जिते पनि फिफाको व्यक्तिगत वर्ष अवार्ड जितेको पाइँदैन ।

सन् २००६ को विश्वकपका लुकास पोडोल्स्की, सन् २०१० को विश्वकपका थोमस मुलर र सन् २०१४ को विश्वकपका पल पोग्बाले सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारे पनि फिफाका वार्षिक अवार्डहरुमा भने प्रभाव देखाउन सकेनन् । एमबाप्पे उनीहरुभन्दा भिन्न देखिन्छन् । किनभने पेलेले भनेजस्तै उनी राजा बन्न सक्ने र राजा बन्न परीक्षण भइरहेका फुटबलर हुन् ।

आसन्न कतार विश्वकपले उनीमाथिको अपेक्षा थप बढाउन सक्नेछ । यति वेला उनी विश्वकप उपाधि रक्षा गर्ने ध्यानमा छन् । यस्तो सफलता सन् १९३४ मा इटाली र सन् १९६२ मा ब्राजिलले मात्र प्राप्त गरेको विश्वकप इतिहास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर