मुख्यमन्त्रीका दाबेदार खगराज भन्छन्- प्रचण्डसँग देउवाको गहिरो लभ परेको छ, आरजु भाउजू पनि खुसी हुनुहुन्छ (भिडिओ) – Nepal Press

मुख्यमन्त्रीका दाबेदार खगराज भन्छन्- प्रचण्डसँग देउवाको गहिरो लभ परेको छ, आरजु भाउजू पनि खुसी हुनुहुन्छ (भिडिओ)

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीको चर्चा गरिएका खगराज भट्टले आफ्नो पार्टी अध्यक्ष र कांग्रेस सभापतिको गहिरो लभ परेको बताएका छन् । भट्ट देउवाको गृहजिल्ला डडेल्धुरा प्रदेश १ बाट उठेका छन् ।

बिहीबार डडेल्धुरामा देउवा सहभागी आमसभामा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाको लभ परेको बताएका हुन् । उनले सत्तागठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीचको तिक्तता अन्त्य गर्न आग्रह गर्दै त्यसरी ‘फुर्क्याए’ ।

‘कांग्रेसका, माओवादीका सबै साथीहरू बुझ्नुहोस् त्यो तिक्तता र त्यो नमीठो चिजलाई परित्याग गरेर आज शेरबहादुर देउवा र प्रचण्डको बीचमा गहिरो लभ परेको छ लभ’ खगराजले भनेका थिए ।

खगराजले प्रसङ्ग देउवा र प्रचण्डमा मात्रै सीमित राखेनन् उनले प्रधानमन्त्री पत्नी आरजुलाई पनि जोडे ।

‘श्रीमान्‌को कसैसँग लभ पर्‍यो भने श्रीमतीको धेरै चित्त बुझ्दैन । तर, यो लभमा आरजु भाउजू पनि धेरै खुसी हुनुहुन्छ । उहाँको अनुहार हेरेर मैले त्यो पनि थाहा पाएको छु ।’

भट्टले त्यसो भन्दा मञ्चमा रहेकी आरजु पनि मुस्कुराइरहेकी देखिन्थिन् । देउवासँगै तीन पटक पराजित भएका खगराज अहिले देउवाकै सहयोगमा मुख्यमन्त्री बन्ने दाउमा छन् ।

देशैभर स्थानीय तहमा सत्ता गठबन्धन हुँदा यहाँ भने भएन । अहिले पनि कांग्रेसले एक्लै निर्वाचन लड्न जोड बल गरिरहेका बेला देउवाले सत्ता गठबन्धनमा माओवादी केन्द्रलाई मिसाउन दबाब दिएका थिए । सत्ता गठबन्धनमा भएर पनि नेकपा एकीकृत समाजवादी भने यहाँ गठबन्धनमा छैन । नेकपा एसका डा. तारा जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनको र कांग्रेस बीपीको तालमेल छ । काग्रेस बीपीबाट कर्ण मल्ल प्रधानमन्त्री देउवाविरुद्ध उठेका छन् ।

यहाँ एमालेबाट पठानसिंह बोहरा प्रतिस्पर्धामा छन् । बोहरा यसअघि सोही क्षेत्रबाट निर्वाचित भएर प्रदेशको भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

यहाँ भट्टलाई कांग्रेसले सघाइरहेको छ भने बोहरालाई कांग्रेस बीपीले सघाउने भएको छ । भागबण्डा नपाएका कारण नेकपा एकीकृत समाजवादी पनि रुष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर