टोपबहादुरको भविष्यवाणी- चुनावपछि गठबन्धन त के त्यहाँका सबै पार्टी टुक्राटुक्रा हुन्छन् (भिडिओ) – Nepal Press

टोपबहादुरको भविष्यवाणी- चुनावपछि गठबन्धन त के त्यहाँका सबै पार्टी टुक्राटुक्रा हुन्छन् (भिडिओ)

अर्घाखाँची । नेकपा एमालेका सचिव तथा अर्घाखाँची प्रतिनिधिसभाका उम्मेदार टोपबहादुर रायमाझीले आगामी निर्वाचनपछि सत्तारुढ गठबन्धनमात्र नभइ त्यहाँका सबै पार्टी टुक्रा-टुक्रा हुने दाबी गरेका छन् ।

‘गठबन्धन कुनै विचारमा आधारित भएर बनेकै थिएन, ककटेल विचार छन्, उनीहरूबीचमै शक्ति सन्तुलन मिलाउन समस्या छ, आपसी द्वन्द्वले उनीहरू विभाजित हुनेछन्, त्यहाँ रहेका दलहरू टुक्राटुक्रा हुने प्रष्ट सिनारियो देखिएको छ’, सोमबार अर्घाखाँचीमा पत्रकारसँग उनले भने ।

सरकारमा रहेका पार्टी विपक्षी दलविरुद्ध गठबन्धन गरेर जानु आफैँमा पराजित मानसिकता रहेको उनको टिप्पणी छ ।

‘यो विश्वव्यापी नजिरविपरीत छ, यसले पनि एमाले कति बलियो छ भन्ने प्रष्ट पारेको छ’, रायमाझीले भने ।

मंसिर ४ पछि देशमा दुई ध्रवको राजनीति हुने बताउँदै उनले पुँजीवादको नेतृत्व कांग्रेसले र समाजवादको नेतृत्व नेकपा एमालेले गर्ने बताए ।

‘नेकपा एमालेले आफ्ना एजेण्डा प्रष्टसँग राखेको, राष्ट्रियता, भौतिक पूर्वाधार विकास र समृद्धिका योजना नै आमनागरिकले मनमनमा राखेको अवस्था छ । गठबन्धन दलसँग कसरी एमालेलाई गाली गरेर बस्नेबाहेक केही एजेण्डा छैन, हामीले सबै विषय प्रष्ट राखेका छौं ’, रायमाझीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर