घनश्याम भर्सेस छविलाल : यस्तो छ स्थानीय चुनावको मतभार – Nepal Press
रुपन्देही-१

घनश्याम भर्सेस छविलाल : यस्तो छ स्थानीय चुनावको मतभार

रुपन्देही । दुई पूर्वसहयात्री नेताको प्रतिस्पर्धा रहेको रुपन्देही- १ को चुनावी माहोल रोचक मोडमा पुगेको छ ।

एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल आमनेसामने भएको यो क्षेत्रप्रति धेरैको चासो र चर्चा छ । एमाले सचिव विश्वकर्मालाई राप्रपा र जसपाले साथ दिएका छन् भने एमाले त्यागेर स्वतन्त्र उम्मेदलवारी दिएका भुसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

यस क्षेत्रमा १ लाख ३९ हजार ५ सय ६० मतदाता छन् । वैशाख ३० को स्थानीय चुनावको मतलाई आधार मान्दा भुसालभन्दा विश्वकर्मा अगाडि छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा, लोसपा र राष्ट्रिय जनमुक्ति पार्टीको मत जोड्दा करिब ४० हजार छ ।

यसैगरी नेकपा एमाले, राप्रपा र जसपाको स्थानीय तहको प्राप्त मत करिब ५२ हजार रहेको छ । त्यसबाहेक ७ हजार मतदाता अहिले थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा अन्य दल र स्वतन्त्र उम्मेदवारमा पनि केही मत बाँडिन्छ ।

एमाले देवदहका तत्कालीन अध्यक्ष रहेका टीकाराम चापागाईँ स्वतन्त्र उठेका छन् । दुवै गठबन्धनको मत आफूले तान्ने भन्दै उनले जित्ने दाबी गरे ।

सत्तागठबन्धनको साथ पाएका घनश्यामले पनि जित्ने दाबी गरेका छन् ।

‘स्थानीय तहको मतको आधार मानेर हुँदैन, त्यसयता धेरै परिवर्तन आइसकेको छ’, उनी भन्छन् ।

उनका प्रतिस्पर्धी एमालेका छविलाल गठबन्धनभन्दा करिब १५ हजार बढी मतले आफू विजयी हुने दाबी गरे । यस क्षेत्रमा तेस्रो र चौथो शक्तिका रूपमा राप्रपा र जसपा छन् ।

यसैगरी रुपन्देही १ (१) मा नेपाली कांग्रेसका विश्वनाथ यादव र राप्रपाका आशिषकुमार चौधरी प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवारले निर्वाचन आफनो पक्षमा रहेको दाबी गरिरहेका छन् । स्थानीय चुनावको परिणाम अनुसार यहाँ सत्तागठबन्धनको पक्षमा करिब २० हजार र एमाले-राप्रपा-जसपासँग करिब २८ हजार मत छ ।

प्रदेशसभा २ मा एमालेका दधिराम न्यौपाने र कांग्रेसका अव्दुल रज्जाक उठेका छन् । यहाँ सत्तागठबन्धनको करिब २० हजार र एमाले-राप्रपा-जसपाको करिव २४ हजार मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर