रूपन्देही २ मा सत्ता गठबन्धनको प्रतिवद्वता सार्वजनिक – Nepal Press

रूपन्देही २ मा सत्ता गठबन्धनको प्रतिवद्वता सार्वजनिक

रूपन्देही । रुपन्देही-२ मा सत्ता गठबन्धनले लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याडसहित आधुनिक मेडिकल कलेज बनाउने योजनालाई समेटेर चुनावी प्रतिवद्धतापत्र ल्याएको छ ।

तिलोत्तमामा सरकारले प्रदेशस्तरीय मेडिकल कलेज निर्माणको काम अगाडि बढाएका बेला सत्तारुढ गठबन्धनले भने लुम्बिनी प्रादेशिक अस्पताललाई आधुनिक मेडिकल कलेज बनाउने योजना अगाडि सारेको हो ।

त्यस्तै, ५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा पनि गरेको छ । सबैलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने गठबन्धनको घोषणापत्रमा भनिएको छ ।

आइतबार एक कार्यक्रमका बीच सत्तारुढ गठबन्धनले प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिवद्धतापत्रमा शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता र समावेशिता, भौतिक पूर्वधार, कृषि तथा वातावरण विकासका खाकासहित रुपन्देही २ (२) लाई लक्षित गरी विभिन्न योजना समेटिएका छन् ।

प्रतिबद्धतापत्रमा शिक्षातर्फ बीटीआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रुपान्तरण गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने उल्लेख छ ।

युवा खेलकुदतर्फ युवाको क्षमता वृद्धि कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रवादी युवा जनशक्ति उत्पादन गर्ने, आधुनिक मापदण्ड अनुसार खेल पूर्वधार निर्माण गर्ने उल्लेख छ । लैंगिक समानता र समावेशीतर्फ जातीय लैंगिक र सामाजिक विभेद हटाई समतामूलक समाजको निर्माण गर्ने, लैंगिक हिंसा पीडितको लागि सामाजिक सुरक्षा केन्द्र स्थापन गर्ने, एक वडा एक जेष्ठ नागरिक केन्द्र निर्माण र गृहणी रोजगार कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

अपांगता भएकालाई दक्ष सीप विकास कार्यक्रम, विपन्नको लागि आवास र महिला उद्यमशीलता र रोजगार कार्यक्रम सञ्चालन गर्ने त्यसमा उल्लेख छ ।

भौतिक पूर्वधारतर्फ सुखी जीवनको लागि पूर्वधारमा लगानी कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता छ । सबै सडक हिलो–धुलोमुक्त र आधुनिक सडक विस्तार गर्ने, अव्यवस्थित बसोबास गर्नेलाई स्वामित्व प्रदान गर्ने र सुकुम्बासीलाई भूमि अधिकार दिइने बताइएको छ ।

कृषि तथा वातावरणमा रासायनिक र जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने, खेतीयोग्य जमिनलाई आधुनिक तथा व्यवसायिक कृषि क्षेत्रको रुपमा विकास गरी किसानलाई बाली कर्जा र बिमा प्रदान गर्ने भनिएको छ । रुपन्देहीको क्षेत्र नं. २ मा गठबन्धनले जनमुक्तिलाई समर्थन गरेको छ । प्रतिनिधिसभातर्फ जनमुक्तिका केशवबहादुर थापा, प्रदेशसभामा १ तर्फ कांग्रेसका दीर्घबहादुर केसी र २ मा माओवादी केन्द्रका वामदेव क्षेत्री उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर