दुई खेलमा तीन कप्तानको अर्धसतक, आर्मी र लुम्बिनी विजयी – Nepal Press

दुई खेलमा तीन कप्तानको अर्धसतक, आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । कप्तान देव खनालको ८९ रनको मदतमा लुम्बिनीले प्रदेश-१ लाई ३९ रनले हरायो भने आर्मीले गन्डकीमाथि ६९ रनको जित निकाल्यो ।

समूह–बीअन्तर्गत कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन जोडेको थियो । देवले ९८ बलमा ११ चौका प्रहार गरे । आकाश त्रिपाटीले ४५, सन्दीप रजालीले ४४, विशाल विक्रम केसीले ३२ र कृष्ण कार्कीले ३१ रन बनाए ।

प्रदेश–१ ले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रन मात्र जोड्न सक्यो । प्रदेश–१ का कप्तान सिद्धान्त लोहनीले ७४, अंकित सुवेदीले ५२ र निरज मुखियाले ४६ रन जोडे। पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेपनि प्रदेश–१ ले जित हात पार्न सकेन । लुम्बिनीका दुर्गेश गुप्ता, देव खनाल र बासिर अहमदले समान २ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका देव प्लेयर अफ दी म्याच घोषित भए । समूहमा चार खेलबाट ४ अंक भएको लुम्बिनी तेस्रो स्थानमा छ। ३ खेलबाट नेपाल पुलिस क्लबको ६ अंक र २ खेलबाट मधेश प्रदेशको ४ अंक रहेको छ ।

समूह–एअन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको आर्मीले ४७.४ ओभरमा सबै विकेट गुमाएर एक सय ६५ रन जोडेको थियो। आर्मीका कप्तान विनोद भण्डारीले ५४ र भीम सार्कीले ३९ रन बनाए। गन्डकीका विपिन खत्रीले ४ र कमल परियारले दुई विकेट लिए । गन्डकीले ३३.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र जोड्न सक्यो । गन्डकीले विना रन पछिल्ला ४ विकेट गुमाएको थियो । आर्मीका सुसन भारी एक्लैले ५ विकेट लिए ।

उनले ९ ओभरमा २ मेडन राख्दै १४ रन खर्चिएका थिए। साहब आलम र कुशल मल्लले दुई दुई विकेट लिए । सुसन प्लेयर अफ दी म्याच घोषित भए। समूहमा ३ खेलबाट ४ अंक भएको आर्मी तेस्रोमा छ। खेलबाट एपीएफको ७ र गन्डकीको ५ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर